देवदह । बालमैत्री वडा घोषणाको लागि अभियान संचालन गरिरहेको देवदह नगरपालिका वडा नं ६ मा बालहिंसा, बालबिवाह, कुलत र दुर्व्यसनविरुद्ध सचेतना र्याली आयोजना गरिएको छ । बालमैत्री स्थानीय शासन प्रवर्धन गर्ने उद्देश्यसहित बिहिवार आयोजना गरिएको कार्यक्रममा वडा, विद्यालय, टोल विकास संस्था, आमा समूह लगायत स्थानीय तहका सरोकारवालाको उपस्थिति थियो ।
र्यालीपछि आयोजित कोणसभामा बोल्दै वडा अध्यक्ष खेमबहादुर थापाले तोकिएको समयमै वडा बालमैत्री घोषणा गर्न र त्यसलाई प्रभावकारी बनाउन वडा प्रतिबद्ध रहेको बताए । अध्यक्ष थापाले योजना अनुसारका कार्यक्रमहरू तीव्र गतिमा अघि बढिरहेको जानकारी गराउँदै अपेक्षाभन्दा राम्रो सहभागिता प्राप्त भएको बताए । बालमैत्री सूचकका ८० प्रतिशत क्षेत्रमा अवस्था राम्रो रहेको र बाँकी २० प्रतिशत क्षेत्रमा काम भइरहेको वडा सहजकर्ता बबिता भट्टराईले जानकारी दिइन् ।
युगज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक यमलाल अर्यालले बालबालिकालाई विद्यालय पठाउँदा अभिभावकले उनीहरूको अवस्था बुझ्ने र बालमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले विद्यालय सधैँ सुरक्षित र बालमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताए ।

टोल विकास संस्थाका प्रतिनिधि गणेश बस्यालले घरको वातावरण शान्त र सहयोगी बनाउन आमा–बुबाको भूमिका महत्त्वपूर्ण विचार राखे । “घरको सम्बन्धले बालबालिकाको व्यवहारमा प्रत्यक्ष प्रभाव पार्छ,” उनले भने, “टोलस्तरमा आवश्यक समन्वय र सहजीकरणमा हामी प्रतिबद्ध छौँ ।”
आमा समूहका प्रतिनिधि मीना केसीले आमा र बच्चाको स्वास्थ्य तथा घरको स्वस्थकर वातावरणप्रति अझ सजक हुनुपर्नेमा जोड दिइन् । “यस अभियानमा हामी हरपल, हरप्रयास साथमा छौँ,” उनले भनिन् ।
वडा सदस्य खेम नारायण अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा वडा बाल सञ्जालका अध्यक्ष सन्देश पाण्डे, सह–सचिव दीक्षा केसी लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology