काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटी रित्तो रहेको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अहिले सरकारी ढुकुटीमा पर्याप्त रकम नहुँदा काम गर्न समेत कठिन भएको धारणा राखे।
प्रधानमन्त्री ओलीले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा सरकारी ढुकुटीमा पर्याप्त रकम भएको उल्लेख गर्दै अहिलेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनले पहिले बजेटको अभाव नभएकोले सहज रूपमा विकासका काम गर्न सकिने अवस्था रहेको तर अहिले पैसा नभएकोले काम गर्न डराउनुपर्ने अवस्था सिर्जना भएको बताए।
उनले अघिल्लो कार्यकालमा देशभरका पालिकामा स्वास्थ्य केन्द्र स्थापना गरेको र त्यसबेला सुरु भएका ६० भन्दा बढी स्वास्थ्य केन्द्र अहिले सञ्चालनमा रहेको जानकारी दिए। तर अहिलेको सरकारले ती परियोजनालाई निरन्तरता दिन नसकेको उनको आरोप छ।
प्रधानमन्त्री ओलीले पार्टी कार्यालय निर्माणमा पनि आर्थिक कठिनाइ भएको बताए। उनले नेकपा एमालेको पार्टी कार्यालय एक–एक रुपैयाँ चन्दा उठाएर बनाउनुपर्ने कुराले व्यवहारिक कठिनाइ उत्पन्न गराएको उल्लेख गरे। चन्दा संकलनको कुरा भन्नेमा मात्रै सीमित भएको भन्दै उनले व्यावहारिक पक्षमा ध्यान दिन आग्रह गरे।
प्रधानमन्त्री ओलीले पछिल्लो समय विकास निर्माणका काम अघि बढाउन समेत कठिन भइरहेको बताए। उनले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा विकासका काम द्रुत गतिमा अघि बढाएको तर अहिले भने आर्थिक स्रोतको अभावले काम गर्न नसकिने अवस्था रहेको बताए। उनले अर्थतन्त्र ओरालो नलाग्ने विश्वास व्यक्त गरे पनि आर्थिक कठिनाइ समाधानमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology