काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विपद्को तयारीमा जुट्न सरकारसँग आग्रह गरेका हुन् । सापकोटाले प्रि मनसुन शुरु भएको र राजमार्गमा त्रास रहेको बताए ।
उनले वैशाख १ देखि २८ गतेसम्मको तथ्यांक हेर्दा सात सय ३२ वटा विपद्का घटनाहरु भएकोमा २१ जनाको मृत्यु हुनुका साथै १७ करोड बराबरको क्षति भएको उल्लेख गरे । सरकारका आपसी निकायहरु बीचमा समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिलाई हुनेगरेको उनको भनाइ छ ।
सांसद सापकोटाले भने, ‘प्रि मनसुन शुरु भएको छ । राजमार्गमा त्रास छ । नागरिकको सडकमै बास छ । सरकारका आपसी निकायहरुका बीचमा समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिला भइरहेको छ ।’
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएका कारण पूर्ण रुपमा बन्द भएको बताउँदै सापकोटाले तातोपानीबाट ल्याइएका स्याउ, लसुन लगायत बोकेका ३० वटा कन्टेनर र ५ सय भन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology