कविता - भिम बिश्वकर्माको आत्मा बोल्छ
म आँधी स्वरहरुमा
स्वर मिलाइरहेको बतासको एक झोक्का हुँ
म अग्लो बिभेदकारी पर्खाल भत्काउन
उदत्त एक मुक्ति पथिक हुँ
म एकाइसौ शताब्दीको सिङ्गो मान्छे हुँ
म भिम बिश्वकर्मा हुँ।
मैले चाहेको हुँ
तिम्रो बिभेदकारी मन्दिर भित्र छिर्न
तिम्रो नरकभित्र कैद देउतालाई
चाहेकै हुँ ,
एकाइसौ सदीको मान्छेको आक्रोश देखाउन ।
म देउतालाई उसको बाउ चिनाउन चाहन्छु
म देउतालाई उसको इतिहास बताउन चाहन्छु
म देउताको बाउ हुँ
म भिम बिश्वकर्मा हुँ ।
म अब झरीले कुटिएको सयपत्री बन्न सक्दिन
म अब रगत लत्पिएको पैताला बन्न सक्दिन
म अब तिम्रो आगनमा उभिने कामी बन्न सक्दिन
मनु स्मृतिका पानाहरुमा खुलेआम पिसाब फेर्दै
म आएको छु चौडा सडकमा
म आन्दोलन हुन आएको हुँ
म युद्ध बन्न आएको हुँ
वर्ण ब्यबस्थाको छाती म हिर्काउन आएको हुँ
एकाइसौ शताब्दीको सुदर्शन चक्रले ।
म मरे
मेरो बलिदानको सम्मानमा उठेछ्न
हजारौं हजार मुठ्ठीहरु
मेरो बलिदानले
तिम्रो हत्यारो मस्तिष्कमा
रगतका टाटाहरु टास्नेछ
तिमी अर्धमुर्छित भएर
युगौ युग रोगी सभ्यता बाच्नेछौ
तिमी घाउ भएर हजारौं बर्ष दुख्नेछौ
तिमी शोक हजारौं बर्ष रुनेछौ
म मल्हम हुनेछ
पोलिरहेका घाउमा टासिनेछु ।
म सुन्दर कविताका हरफहरुमा ज्युदो रहनेछु
म जनताको इतिहासमा म स्वर्ण अक्षरमा कुदिनेछु
म सदा सदा युग चराले गाइरहने अजर गीत हुनेछु।
सर्जक : रसुवाली कवि
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology