जिम्मेवारीले पिसिएको पुरुष
न पिरमा रुने छ अनुमति ।
न पीडामा देखाउन मिल्छ प्यास
नसानसा जलिरहे पनि ।।
काँधमा छ कर्तव्यको भारी
कम्मरमा कठिन श्रमको रसी ।
घर परिवारको जिम्मेवारीले
उसको चाहना छ पर्दा पछि ।।
परिवारका प्रश्न प्रहार
पत्नीका अपेक्षाका पहाड ।
पूरा गरे पनि कमै ठहरिने
नगरे नालायकको छाप ।।
पसिनाले पेट पाल्दा पनि
स्याबासी दिईदैन पुरुषलाई ।
सफलता देखिँदैन कहिल्यै
पराजय मात्रै देखाइन्छ उसलाई ।।
पीडा पोख्यो भने पाखण्डी
पिर लुकायो भने पत्थर ।
बोल्यो भने बिग्रिएको
बोलेन भने घमण्डी चरित्र ।।
गर्नु पर्ने हाँसोको अभिनय
साथीहरु सँग सुखीको ।
एकान्तमा आँसुमा डुबेको
स्वास मात्रै बाँकी छ दु:खीको ।।
न माया माग्न मिल्छ
न मर्न पाउँछ निर्धक्क ।
न बाँच्न सजिलो छ
पुरुष हुनु नै अपराध जस्तै सत्य ।।
दिनदिनै दफन हुन्छ उसका सपना
दिनदिनै दगुर्छ जिन्दगीका लागि ।
नाम समाजको सहारा
काम समाजको दासगिरी ।।
कसैले देख्दैन यो दर्द
कसैले सुन्दैन यो स्वर ।
नबोल्ने, नदेखिने, नलेखिने
यही हो पुरुषको परिचय हेर ।।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology