गणतन्त्रको मर्म कस्तो छ सोध उसलाई।
जो लड्यो हिजो छातीमा गोली खाई।।
जसको आँखाबाट बरबर बरबर आँसु झरे।
गणतन्त्रको सपना बोकी अरु सबै त्याग गरे। ।
जस्ले छोरा गुमायो, छोरीको इज्जत लुटियो।
घर जले, आफन्त टुटे परिवार भुटियो।।
जेलको भित्तामा नारा लेखे गणतन्त्र भनी।
झुकेनन् कहिल्यै नङमा आलपिन घोचिदा पनि ।।
गलेनन् कहिल्यै हिटरमा पिसाब फेराउँदा पनि ।
मनभित्र देश बाचिरह्यो गणतन्त्र नेपाल भनी।।
हिम्मत भत्किएन कहिल्यै सधै मन बलियो।
गणतन्त्र नेपाल उसकाे सुन्दर सपना थियो।।
तर आज ती सपना कति कति तुहिए।
गणतन्त्र बिरोधि नेताहरू सत्तामा ढुसी भए।।
आफै खाए, आफै रमाए,आफैले कमाए।
जनतालाई सधै झुटकाे सपना मात्र सुनाए।।
गणतन्त्रको नाममा हामी बाँचिरहेका छौ।
ती वीर शहीदको चिहानमाथि हाँसिरहेका छौ।।
धन्य ती वीर सहिद धन्य ती गणतन्त्रका कथा।
जनताहरुलाई कथै कथा नेताहरुलाई सत्ता।।
रहोस गणतन्त्र सधै सधै सधै सजीव।
तर नेताहरूले नबनाउन यसलाई निर्जीव।।
फेरि उठ्नेछ आवाज सडकमा।
जब जनताले सम्झनेछन फेरि हिजोका ति सपना।।
दुर्गालाल तिवारी, देवदह
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology