काठमाडौं । यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि व्यवसायी आन्तरिक छलफलमा बसेका थिए । छलफलपछि मंगलबार साँझ बसेको बैठकले हालका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरका अनुसार अब सार्वजनिक यातायातका साधन निर्वाध रूपमा सञ्चालनमा आउने छन् ।
व्यवसायीहरूले गण्डकी प्रदेशको नियमावलीलाई बहाना बनाउँदै मुलुकभर सार्वजनिक यातायात ठप्प पारेका थिए । संघीय सरकारको आग्रहमा गण्डकी प्रदेशले नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गरेपछि व्यवसायी वार्ताको तयारीमा देखिएका हुन् ।
सार्वजनिक सेवालाई सास्तीमा पारेर गरिने यस्तो दबाबमूलक शैलीप्रति भने नागरिकस्तरबाट आलोचना भएको छ । हडताल फिर्तासँगै दुई दिनदेखि रोकिएका यात्रु, विद्यालय, अस्पतालजस्ता अति आवश्यक सेवामा सहजता फर्किने अपेक्षा गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology