देवदह । देवदह नगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को बार्षिक नीति तथा कार्यक्रम सम्वन्धी सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख धुवप्रसाद खरेलको अध्यक्षता र प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले नीति र कार्यक्रमलाई आधार मानेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । उनीहरुले नगरपालिकाको बजेटले कति काम गर्न सकिन्छ सोही अनुरुपको नीति तथा कार्यक्रममा समावेश गर्र्नुपर्ने बताउदै परिणाममुखि प्रतिफल दिने गरी नीति तथा कार्यक्रम ल्याईनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सुझाव राख्नेहरुले उत्पादनको आधारमा अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिदै कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य र सीपमुलक कार्यक्रमलाई प्राथमिकता दिएर पर्याप्त मात्रामा बजेटको व्यवस्था गर्न आग्रह गरेका थिए । उनीहरुले आवश्यकताको आधारमा योजना छनोट गर्नुपर्ने बताउदै सामुदायिक वनलाई उत्पादनसँग जोडेर लैजानु पर्ने बताए ।

सहभागिहरुले देवदह भगवान गौतम बुद्धको मावली स्थल भएकोले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरी नीति तथा कार्यक्रममा समावेश गरेर सोही अनुसार बजेट विनियोजन गर्नुपर्ने बताएका थिए । उनीहरुले प्राविधिक शिक्षाले मात्र जनशक्ति उत्पादन हुने भन्दै देवदह क्षेत्रमा रहेका विद्यालय छनोट गरी प्राविधिक शिक्षा लागु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले जनताले अपनत्व लिने गरी नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । उनले नागरिकले दिएका सुझावलाई प्राथमिकरण गरेर नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताउँदै स्थानीय श्रोत साधन प्रयोग गरेर विकास निर्माणको कामलाई अगाडि बढाउन आवश्यक रहेको औल्याए ।
सांसद विश्वकर्माले देवदहको छवि राम्रो बनाउनको लागि सवैले सहयोग गर्न आवश्यक रहेको बताए । फरक प्रसंगमा बोल्दै पुर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले आवासीय विद्यालयलाई महत्व दिनेगरी शिक्षा ऐन आउने जानकारी दिए ।
कार्यक्रममा नेकपा एमालेका प्रकाश अर्याल, नेपाली काग्रेसका गुनाखर भुर्तेल, नेकपा माओवादी केन्द्रका दिपक न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश अधिकारी, पत्रकार विष्णु पोखरेल, जसबहादुर पुन, समज्ञा अधिकारी, मिना श्रेष्ठ, देवराज चौधरीलगायतले नीति तथा कार्यक्रमका विषयमा सुझाव दिएका थिए ।
नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालको सहजीकरणमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology