काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आईतवारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अगाडी बढ्ने बताएका छन् । शुक्रवार नयाँ वानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी दिनहरूमा संसद् भवन आउने, सूचना टाँस गर्ने र फर्कने अवस्था नबन्ने बताए ।
उनले प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने र नगरौँ भन्दा नहुने अवस्थाको सिर्जना हुन नदिने समेत जिकिर गरे । मुख्य सचेतक बर्तौलाले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा जोडिनुपर्ने आवश्यकता रहेको औंल्याए । उनले कानूनहरू पारित गर्नुपर्ने कार्यभार रहेको जिकिर गर्दै आगामी आर्थिक वर्षको बजेटमाथि छलफल नभएको बताए ।
बजेटलाई पारित गर्नुपर्ने दिशामा जानुपर्ने जिम्मेवारी रहेको समेत भन्दै उनले आगामी आईतवारदेखि प्रतिनिधि सभाको बैठक नियमित र सहज ढङ्गले सञ्चालन हुने दोहोर्याए ।
उनले भने, ‘आईतवारदेखिको बैठक सहज ढङ्गले अगाडी बढ्छ । यहीँ हिसावले हरेक दिन आउने, सूचना टाँस गरेर फर्किरहने, प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने, नगरौँ भन्दा नहुने भन्ने कुराको दिनको रिपिटेशन सधैँ हुने अवस्था बन्दैन । संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा पनि हामी जोडिनुपर्छ । कानून पारित गर्नुपर्ने कार्यभार छन् ।’
सचेतक बर्तौलाले प्रतिपक्षीलाई पेलेर जाने कुरा वर्तमान सरकारको शब्दकोषमै नरहेको जिकिर गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology