देवदह । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयका दुई विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । बुद्ध पव्लिकका विद्यार्थी विवेक भूषाल र आर्यन पाण्डेले एसईई २०८१ मा ४ जिपिए ल्याउन सफल भएका हुन् ।
विद्यालयबाट ५१ जना विद्यार्थी एसईई परिक्षामा सहभागि भएकोमा दुईजनाले ४ जिपिए, २१ जनाले ३.६ भन्दा बढि जिपिए ल्याएको विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले शनिवार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिए । कार्यक्रममा बोल्दै प्रिन्सिपल गैरेले देवदह क्षेत्रमा बुद्ध पव्लिकका २ जना वाहेक अन्यले ४ जिपिए नल्याएको दावी गरे ।
वि.सं २०६७ सालबाट निरन्तर रुपमा एसईईमा सहभागि भएको बुद्ध पब्लिकको यो पटकको नतिजा सबैभन्दा उत्कृष्ट भएको प्रिन्सिपल गैरेले बताए । उनले भने, ‘हामीले सँधै उत्कृष्ट नतिजा ल्याउने प्रयास गरिरहेका हुन्छौं । अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालय अधिकांश स्थानमा उत्कृष्ट हुनेगरेको छ । यो पटक देवदहमा पहिलोपटक हाम्रो विद्यालयबाट २ जना विद्यार्थीले ४ जिपिए ल्याएकोमा हामी खुसी छौं ।’
विद्यालयको यो १५ औै व्याच भएको जानकारी दिदै प्रिन्सिपल गैरेले ४ जिपिए ल्याउने विद्यार्थीलाई नगर २५ हजारसंगै गोल्डमेडल र सम्मानपत्र प्रदान गरिने बताए । एसईईमा ३.८ देखि ३.९९ जिपिएसम्म ल्याउने विद्यार्थीलाई नगद १० हजारसंगै गोल्डमेडल र सम्मान पत्र, ३.६ देखि ३.७९ जिपिएसम्म ल्याउने विद्यार्थीलाई नगद ५ हजार सहित गोल्डमेडल र सम्मान पत्र प्रदान गरिने गैरेले जानकारी दिए । विद्यालयले ३.२ जिपिएदेखि ३.५९ जिपिएसम्म ल्याउने विद्यार्थीलई गोल्डमेडल र सम्मान पत्र प्रदान गर्ने जनाएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दुई विद्यार्थी ४ जिपिएसंगै उत्तिर्ण गराएको बुद्ध पब्लिकको नतिजा शत प्रतिशत रहेको विद्यालयले जनाएको छ । शतप्रतिशत पास गराउन सफल भएको अवसरमा आईतवार विद्यालयले अविर जात्रा गर्ने पत्रकारहरुसँगको भेटमा प्रिन्सिपल गैरेले बताए ।
दिउसो १ बजेबाट सुरुहुने कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति लगाएत विद्यालयका शुभेच्छुकहरु सहभागी हुनेछन् । अविर जात्रा देवदहको खैरेनी, सेमरहना, ढेकावर, भवानीपुर, शितलनगर, घोडाहा पिपलडाँडा लगाएत स्थानको परिक्रमा सँदै विद्यालयमा आई समापन हुने प्रिन्सिपल गैरेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology