देवदह । देवदह बुद्ध पब्लिक आवासीय मा.वि. ले कक्षा ११ मा भर्ना भएका नवागन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले गुणस्तरीय शिक्षाको लागि संस्थागत विद्यालयको योगदान महत्वपूर्ण रहेको बताए । विद्यालय, विद्यार्थी र अभिभावक विचको सहकार्यबाट शिक्षाको गुणस्तर सुधार हुने उनले धारणा राखे ।
विद्यार्थीहरूको सर्वाङ्गीण विकासका निम्ति विभिन्न विधामा प्रशिक्षक राखेर बुद्धपब्लिकले सरहानीय काम गरेकोले यसबाट उत्पादित जनशक्ति बजारमा यत्रतत्र देखिने कुरामा आफु विश्वस्त रहेको डुम्रेले बताए ।
विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध पब्लिक फाउण्डेशनका अध्यक्ष सुवकान्त न्यौपानेले समुदायको पहिलो रोजाइको विद्यालय स्थापनामा विद्यालय परिवारले काम गरिरहेको उल्लेख गरे ।
सहायक प्रिन्सिपल वेद सूर्यवंशी स्वागत, कक्षा ११ र १२ का इन्चार्ज अन्तराम भण्डारीको धन्यवाद ज्ञापन र अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको सञ्चालनमा भएको कार्यक्रममा कक्षा ११ र १२ तर्फ अध्यापनरत शिक्षक कर्मचारिको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयमा अध्ययन हने विषय, विषयगत शिक्षक र विद्यालयका नियमहरुको बारेमा जानकारी गराइएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology