कविता : जिन्दावाद र मुर्दावाद
रहरहरुको पिंजडा भित्र
चाहानाहरुलाई बन्दी बनाउँदै
आफुले आफैलाई न्यायको कठघरामा उभ्याएर
आउनुस कसैले जिन्दावाद भनौं ।
कसैले मुर्दावाद भनौं ।
स्वतन्त्रताका कलमहरु रोक्दै
न्यायप्रेमी आवाजहरु थुन्दै
संविधानका धाराहरु मिच्दै
आफुले आफैलाई क्रान्तिकारी घोषणा गरेर
आउनुस कसैले मुर्दावाद भनौं ।
कसैले जिन्दावाद भनौं।
कानुनहरुको हत्या गरेर
मानवताको बलात्कार गर्दै
सर्वोच्चको मृत लाश बोकेर
न्यायाधीशहरुको शवयात्रामा
आफुले आफैलाई मलामी बनाएर
आउनुस कसैले जिन्दावाद भनौं ।
कसैले मुर्दावाद भनौं ।
गुलामहरुको भिडमा
दासहरुको बस्तीमा
रैतीहरुको घर भित्र
अश्लीलताको ओछ्यानमा
आफुले आफैलाई सुताएर
आउनुस कसैले जिन्दावाद भनौं ।
कसैले मुर्दावाद भनौं ।
मलेसियाको जंगलबाट पुकार्दै
अरवका खाडीबाट रुँदै
कुवेतका कोठीबाट चिच्याउँदै
भारतका सिमाबाट घिच्याउँदै
आफुले आफैलाई स्वाभिमानी मानेर
आउनुस कसैले जिन्दावाद भनौं ।।
कसैले मुर्दावाद भनौं ।।
रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी, नुवाकोट
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology