नेपालको सामाजिक इतिहासमा श्रावण ११, २००६ साल एक अविस्मरणीय दिनको रूपमा चिनिन्छ । यो दिनले मुलुकमा सदियौं देखिको जातीय विभेद, श्रमप्रति रहेको तिरस्कार र ब्राह्मणवादको कट्टर सोचलाई चुनौती दिएको थियो । लमजुङ जिल्ला अन्तर्गत पर्ने दुराडाडामा जन्मिएको हलो क्रान्ति तत्कालीन राणा शासनद्वारा संरक्षित सामन्तवादी सोचको विरुद्धमा उठाइएको ऐतिहासिक विद्रोह हो ।
हलो क्रान्तिमा अगुवाइ गरेका थिए - त्यहाँका एक प्रगतिशील ब्राह्मण तोयनाथ अधिकारी । उनका साथमा थिए - लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त पौडेल लगायत २७ जना ब्राह्मण समुदायका व्यक्तिहरू । जसले हलो जोतेर प्रत्यक्षरूपमा प्रचलित परम्परागत सोचको विरोध जनाए ।
त्यो समय ब्राह्मण जातिले हलो जोत्नुलाई अपवित्र र अपराधको रूपमा लिइन्थ्यो । हलो जोत्ने ब्राह्मणको समाजबाट बहिष्कार गरिन्थ्यो भात बार्ने, सम्बन्ध विच्छेद गर्ने, बिबाह रोक्ने, छोरीबुहारीलाई माइती र घर जान रोक लगाउने जस्ता सामाजिक प्रताडनाहरू ती "विद्रोही" ब्राह्मणहरूले भोगे । यो अवस्था झण्डै तीन वर्षसम्म रह्यो ।
हलो जोतेको आरोपमा आरोपित ब्राह्मणहरूलाई २००७ सालमा पक्राउ गरी जेल हालियो । यो घटना सामाजिक बन्धन विरुद्धको साहसिक क्रान्तिका रूपमा स्थापित भयो । क्रान्तिको बेलामा केही मान्छेहरूले एक गीतसमेत गाएका थिए ।
"शेषकान्त लेफ्टिनेन्ट, हरिभक्त तिघ्रे,
तोयनाथ पण्डित, हलो जोति बिग्रे"
यो गीतले प्रत्यक्ष रूपमा पुरातन परम्परा तोड्नेलाई “बिग्रिएको” भनेर हेर्ने मानसिकतालाई उजागर गर्छ ।
हलो क्रान्तिले केवल जातीय भेदभाव र श्रमविरोधी सोचलाई मात्र चुनौती दिएन यस्ले त समाजमा श्रमको सम्मान, समानताको भावना र सामाजिक न्यायको बीउ रोप्यो । यो क्रान्ति ब्राह्मणवाद, जातीय छुवाछुत र हलिप्रथाको विरुद्धमा उठेको पहिलो संगठित आन्दोलनको रूपमा आज पनि सम्झना गरिन्छ ।
आज पनि प्रत्येक वर्ष साउन ११ गते, लम्जुङको दुराडाडा क्षेत्रमा विविध कार्यक्रम गरी हलो क्रान्तिको सम्झना गरिन्छ। यो दिनले हामीलाई सम्झाउँछ कि समानता र न्यायका लागि आवाज उठाउनेहरू युगौंसम्म स्मरणीय रहन्छन् ।
हलो क्रान्ति केवल हलो जोत्ने विषयमा सीमित आन्दोलन थिएन, यो एक विचारको विद्रोह थियो । जहाँ व्यक्तिहरूले परम्परा, धर्म र जातका नाममा थोपरिएका जन्जीरहरू तोड्न हिम्मत गरे। यस्तो इतिहास आजको पुस्ताले जान्नु, बुझ्नु र गर्व गर्नु जरुरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology