देवदह । देवदह बुद्ध पब्लिक आवासीय मा.वि देवदह-५ ले कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गरी आइतवार अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले विद्यार्थीहरुलाई जीवन, जगत र सकारात्मक सोँच बारे प्रशिक्षित गरेको विद्यालयले जनाएको छ ।
सो अवसरमा प्रशिक्षक अधिकारीले जन्मदिने आमा बुवा र जीवनको गोरेटो देखाउने अभिभावकको भुमिकाको विषयमा डकुमेन्ट्री प्रस्तुत गरेका थिए । प्रशिक्षणको क्रममा उनले शिक्षा, मानवता र बुबा आमाको महत्व बारे विद्यार्थीहरुलाई प्रष्ट्याएका थिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले सकारात्मक सोँचको विकासका लागि आयोजित अभिमुखीकरणले मानव जीवनलाई बदल्न सक्ने बताए । उनले विद्यार्थीहरु भोलिको देशका नेतृत्वकर्ता भएकाले पनि सानै उमेरबाट सकारात्मक सोँचको विकास आवश्यक रहेकोमा जोड दिए । ‘आज मानवसेवा आश्रमले हजारौंलाई आश्रय दिएर सरहानिय काम गरेको छ । सहयोग र सहकार्य मानवसेवाको अभिन्न अङ्ग पनि हो ।’ उनले भने, ‘त्यसैले मानवियताको अभियानमा लाग्नको लागि सकारात्मक सोँच आवश्यक हुन्छ ।’
विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेको अध्यक्षता, सहायक प्रिन्सिपल वेद सूर्यवंशीको स्वागत र अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको सञ्चालनमा भएको कार्यक्रममा लेखा समिति संयोजक विनोद पराजुली, मानव सेवा आश्रम लुम्बिनी प्रदेशका संयोजक सरु अधिकारी, अभियान्ता करुणा, कक्षा ११, १२ का संयोजक अनन्तराम भण्डारी, मावि इन्चार्ज मुक्ति विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कक्षा १०, ११ र १२ का चार सय बढी विद्यार्थीहरु सहभागी भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मरासिनीले जनकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology