जब जाग्छन युवाहरु भिजाउछन् देश रगत र पसिनाले
सहादत प्राप्त गर्छन वीरहरु तर अमर हुन्छन् इतिहासले ।।
सूर्य अस्ताए पनि बिहान पु:न उदाउँछ उज्यालो
सत्यलाई ढाकेर कहाँ टिक्छ र तिम्रो अन्धकार त्यो ।।
रक्तले सिंचिन्छन् वतन, फुल्छन् तिम्रा उज्याला सपना
नभतिर झुण्डिन्छ जब वीरहरु उठ्दछ रगतको कविता ।।
युवाहरुले जब गर्दछन् प्रतिज्ञा र दहन गर्छन् दुष्टलाई
भष्ट्रका पापी भवनहरू भत्काउँछन् आँधी झै वज्रलाई ।।
सामन्तको सिंहासन डगमगाउँछ जब हुंकार गुञ्जन्छ
कपटीको झुठ्ठा किल्ला सत्यको आँधीमा भत्किन्छ ।।
उठ्छन् जब युवाहरु टाउकामा बाँधेर कपन पट्टी
जाग्छ जब हृदयमा अन्याय विरुद्ध लड्ने दृढ शक्ति ।।
कातरले कहिल्यै जित्दैन जङ्ग युद्धको रणमैदानमा
साहसीले गुमाउँछ सर्वस्व तर अमर हुन्छ बलिदानमा ।।
आँसु झर्दैन उसको आँखाबाट, भ्रष्टहरुको टाउको गिड्दा
वीरहरुको हृदय झन् कठोर हुन्छ पीडै पीडाले गर्दा ।।
सत्यकै बाटोमा हिँड्छ जो ऊ कहिल्यै मर्दैन
अन्यायको विरुद्ध लडिनै रहन्छ उ कहिल्यै पछि सर्दैन ।।
शहीदको रगत व्यर्थ छैन, माटोभित्र गुनगुनाउँछ
जनताको उद्गार बनेर सधै उ दीपझैँ दप्दपाउँछ ।।
साहसकै जित हुन्छ अन्त्यमा, यही छ अटल मन्त्र
धन, दौलत, तामझाम सबै हुन यि क्षणिक मात्र ।।
सधै अमर रहन्छ उसको त्यो साहस त्यागको गाथा
युगौयुगसम्म गुञ्जिरहनेछ यो वीरहरूको कथा ।।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology