न झुक्छ उ नत लजाउँछ
उस्ले बर्षौँ भयो लजाउन छाडेको
उस्ले झुक्न पनि बिर्सिएको छ आजभोलि
कनिकुथी भोट माग्दा झुक्छ उ
अपुरो वाचा सम्झिदा अलिअलि लजाउँछ ऊ ।
अपुरो वाचा र फोस्रो भाषणले गिज्याउँदैन उस्लाई
बेरोजगारी र भोकमरीले सताउँदैन उस्लाई
हो,
खाडीको तातो हावाले पनि पोल्दैन उस्लाई
त्रिशुलीको कन्कड बालुवाले पनि घोच्दैन उस्लाई ।
नत परिवारसंग बिछोडको कथा छ उ संग
नत संगै भएर पनि अनिकालको ब्यथा छ उ संग
नत थाप्लोमा ॠणको भार छ
नत आँखामा आँशुको भेल छ
त्यसैले त उ
नत झुक्छ कसैसंग
नत लजाउँछ नै ।
आफुलाई जनताको सेवक मान्छ उस्ले
तर सेवा गर्दैन कसैको
कनिकुथी भोट माग्न झुक्छ उ
लज्जावोध गर्दैन आफैलाई
भगवान ठान्छ आफुलाई
विद्वान मान्छ आफैलाई
न झुक्छ उ, नत लजाउँछ उ
न झुक्छ उ नत लजाउँछ उ ।
रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी, नुवाकोट
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology