लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस प्रमुखमा उपप्राध्यापक दयानिधि गौतम नियुक्त भएका छन् ।
यसअघि क्याम्पस प्रमुख रहेका डा. निरबहादुर गुरुङको चार वर्षे कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ नियुक्तिका लागि आवेदन खुला गरेको थियो । तोकिएको म्यादभित्र गौतमको मात्र आवेदन परेपछि उनलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले जानकारी दिए ।
आइतबार क्याम्पस प्रशासनले नवनियुक्त प्रमुखलाई स्वागत र निवर्तमान प्रमुखलाई विदाई गरेको थियो । कार्यक्रममा बोल्दै गौतमले क्याम्पसको चौतर्फी विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । क्याम्पसको आधार बलियो नभएसम्म कसैले पनि विश्वास नगर्ने उल्लेख गर्दै उनले वार्षिक एक करोड कोष संकलन गर्ने लक्ष्य राखेको बताए । साथै, आफ्नो कार्यकालभर खादा नलगाउने उद्घोषसमेत गरे ।
'खादा तथागत बुद्ध र क्याम्पसलाई यहाँसम्म ल्याउन सहयोग गर्ने अग्रजहरुप्रति हो, म मेरो कार्यकालभर खादा प्रयोग गर्दिनँ,' उनले भने । विद्यार्थीको अवस्था सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै गौतमले विद्यार्थीले खानाको चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास दिलाए ।
त्यस अवसरमा निवर्तमान क्याम्पस प्रमुख गुरुङले आफ्नो कार्यकाल सफल बनाउन साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि क्याम्पसको हितका लागि सक्दो योगदान दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा परीक्षा नियन्त्रक इन्द्रप्रसाद काफ्ले, पूर्व क्याम्पस प्रमुख फणिन्द्रकुमार न्यौपाने, देवदह शिक्षा विकास परियोजना प्रमुख डा. कुमार खड्का, प्राध्यापक संघका अध्यक्ष गुणाखर गैरे, उपप्राध्यापक डा. निमा शेर्पा, सहायक प्राध्यापक कमल थापा र अञ्जु खनाललगायतले क्याम्पस विकासमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology