काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले गत भाद्र २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग प्रारम्भिक चरणमा विवादित र पूर्वाग्रही बनेको बताएको छ ।
मंगलवार विज्ञप्ति जारी गर्दै युवा संघले विना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै शंका र पूर्वाग्रहका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित राहदानी रोक्काको निर्णय गरेको भन्दै युवा संघले आपत्ति जनाएको हो।
असोज १२ गते जाँचबुझ गर्न आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको राहदानी रोक्का गर्ने सिफारिस गरेको थियो।
संघका अध्यक्ष क्षितिज थेबेले घटनाको निष्पक्ष छानबिनको पक्षमा रहेको तर छानबिन नै नगरि प्रारम्भमै अपराधी करार गर्ने गरि गम्भीर प्रकारका निर्णय गरिनु आपत्ति जनाएका हुन्।
उनले भनेका छन्- 'वर्तमान सरकारले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का श्रद्वेय अध्यक्ष कमरेड केपी शर्मा ओली लगायतको राहदानी रोक्का गर्ने निर्णय गरेकोप्रति हाम्रो संगठन गम्भीर चासो र आपत्ति प्रकट गर्दछ । गत भाद्र २३ र २४ गतेको घटनासम्बन्धी जाचबुझ आयोग, २०८२ ले विना कुनै आधार र प्रमाण जाचबुझको प्रारम्भिक चरणमै विशुद्व शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको निर्णय गरेको तथ्य छर्लङ्गै छ । हामी उक्त घटनाको निष्पक्ष छानबीनको पक्षमा छौं तर छानबीन नै नगरि प्रारम्भमै अपराधी करार गर्नेगरि गम्भीर प्रकारका निर्णय गरिनु आपत्तिजनक छ ।’
राष्ट्रिय युवा संघ नेपालले लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका निमित्त बलिदानी र कठोर संघर्षको बाटो अपनाएको उल्लेख गरेको छ ।
युवा संघले भनेको छ- 'आफ्नो स्थापनाकाल देखि नै निरन्तर लोकतन्त्र, बहुदलीय व्यवस्था र जनहितको पक्षमा दृढतापूर्वक पहरेदारी गर्दै आएको छ । हाम्रो संगठनले अल्पकालिन लोकरिझ्याईमा रूमल्लिने भन्दा पनि राष्ट्रको दिर्घकालिन हित र लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका निमित्त बेला बेला बलिदानी र कठोर संघर्षको बाटो अपनाएको सर्वविदित्तै छ । हामी प्रत्येक नागरिकको पूर्वाग्रह र प्रतिशोधरहित जीवनयापन र राजनीतिक क्रियाकलाप गर्ने पाउने संविधान प्रदत्त मौलिक अधिकारको रक्षाका निमित्त लड्दै आएको यथार्थ सबैमाझ स्पष्ट नै छ ।’
संघले गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत गत भाद्र २४ गते विध्वंसकारी गतिविधिमा संलग्न हुनेलाई नियमित कानूनी प्रक्रिया अन्तर्गत कारबाही नचलाउने भनेर गरेको निर्णयप्रति आपत्ति जनाएको छ । साथै युवा संघले एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि पनि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउन लागेको आरोप लगाएको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology