काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दिएको छ ।
इजरायली सेना आईडीएफका एक अधिकारीले विपिन जीवित नरहेको परिवारलाई बताएको हो । ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको दूतावासले जनाएको छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् ।
विपिनको अवस्था सार्वजनिक गराउने सरकारको कूटनीतिक प्रयास जारी रहे पनि त्यसमा खास प्रगति देखिएन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology