पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई पाल्पामा ठूलो धक्का लागेको छ । जिल्लाका प्रभावशाली नेताहरुनै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेसंगै जिल्लामा एमाले खुम्चिने संकेत देखिएको छ ।
नेकपा एमाले पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरु शनिबार समाजवादीमा प्रवेश गरे । तानसेनमा आयोजित पत्रकार सम्मेलनमा रायमाझीले एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचारणविपरीत अधिनायकवादी सोंचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए ।
विगतदेखि नै पार्टीमा चरम विकृति र बिसंगति बढेको र त्यसलाई सच्याउन प्रयास गरेपनि असफल भएको रायमाझीले उल्लेख गरे । रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारिपूर्वक निभाउने बताएका छन् । पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहेका रायमाझी तत्कालीन नेकपामा विवाद हुंदा माधव नेपाल–प्रचण्ड पक्षमा थिए । तर एमाले विभाजनपछि भने उनी एमालेमै रहेका थिए ।
उनी एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य थिए । उनीसंगै एमाले जिल्ला कमिटी सदस्यहरु धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बराल एकीकृत समाजवादीमा प्रवेश गरेका एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले बताए ।
बराल गत स्थानीय चुनावमा रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भएर झिनो मतले पराजित भएका थिए । पौडेल साविकको छहरा गाविस अध्यक्ष हुन् । रायमाझीसहित ६७ जना एमाले नेता तथा कार्यकर्ताहरु समाजवादीमा प्रवेश गरेका छन् ।
रैनादेवि छहरा गाउँपालिकामा यसअघिको स्थानीय तहको निर्वाचनमा झिनो मतान्तरले नेपाली काँग्रेससंग पराजीत भएको एमालेले आउँदो निर्वाचनको लागि बलियो जनमत तयार गर्ने संकेत देखाएको थियो । तर रायमाझीसहितका प्रभाशाली नेताहरु समाजवादीमा प्रवेश गरेपछि त्यो संभावना कमजोर भएको छ ।
पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाको अध्यक्षतामा भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology