काठमाडौँ । बंगलादेशमा आगामी फेब्रुअरीमा हुने आम चुनाव अन्योलमा परेको छ । राजनीतिक अस्थिरता, हिंसा र सेनाभित्रको असन्तुष्टिले चुनाव तयारी प्रभावित बनाएको छ ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) को आदेशमा १५ वरिष्ठ सेनाधिकारी पक्राउ परेका छन् । उनीहरूलाई ढाका क्यान्टोनमेन्टको एमईएस भवन ५४ मा रहेको अस्थायी जेलमा राखिएको छ । यस घटनाले सेनाभित्र गुटबन्दी तीव्र बनाएको बताइन्छ ।
अवामी लिग (शेख हसिनाको पार्टी) को दर्ता निलम्बन भएपछि विपक्षी बीएनपी र जमात-ए-इस्लामीले सुधार बिना चुनाव हुन नदिने चेतावनी दिएका छन् । सरकार भने विपक्षी गतिविधिलाई दमन गर्दै चुनाव तयारी अघि बढाइरहेको छ ।
गत १० महिनामा भएका २५३ हिंसात्मक घटनामा १६३ जनाको मृत्यु र ३१२ जना घाइते भएका छन् । धार्मिक आक्रमण पनि बढ्दै गएको छ । सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन कठिनाइ भोगिरहेको छ ।
विश्लेषकहरूका अनुसार यस्तो परिस्थितिमा निष्पक्ष चुनाव सम्भावना कमजोर बन्दै गएको छ र सेनाभित्रको संकटले राजनीतिक भविष्यलाई अझ अनिश्चित बनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology