देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदहको कक्षा ९ का विद्यार्थीका अभिभावक र शिक्षकबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको सभाहलमा आज आयोजित कार्यक्रममा अभिभावकहरुले विद्यार्थीको अध्ययनस्तर सुधारका लागि रचनात्मक सुझावहरु दिएका छन् । उनीहरूले कक्षा ९ लाई आधारशिला मानिँदै उच्चतम जि.पी.ए. हासिल गर्न आवश्यक तयारी कक्षाहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कक्षा शिक्षक दधिराम ज्ञवाली र डिल्लीराम पराजुलीले विद्यार्थीहरूको शैक्षिक प्रगति, अनुशासन र अतिरिक्त क्रियाकलापसहितको विस्तृत प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नगरी व्यवहारिक जीवनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । “संस्कार विनाको शिक्षा घातक हुन्छ, त्यसैले विद्यार्थीलाई व्यवहारिक र जीवन उपयोगी शिक्षातर्फ प्रेरित गर्न अभिभावक र विद्यालय दुवैको भूमिका समान महत्त्वपूर्ण छ ।” उनले भने ।
कार्यक्रम विद्यालयका सह–प्राचार्य प्रदीप अधिकारीको सञ्चालन र प्राचार्य पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कक्षा ९ का ४५ जना अभिभावकको सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology