काठमाडौँ । नेपाली कांग्रेसका युवाहरूको संगठन नेपाल तरुण दलले देशैभर निर्वाचन केन्द्रीत कार्यक्रम गर्न जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले मंगलवार सबै जिल्ला समितिलाई परिपत्र जारी गर्दै निर्वाचन केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएका हुन् ।
परिपत्रमा सबै जिल्लामा र्यालीलगायत मार्च पास गरी कोण सभा आयोजना गरी निर्धारित समयमै निर्वाचनको सुनिश्चितता गर्न सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउने र जिल्लास्थित नागरिक समाज, सुरक्षा अधिकारी, जेनजी युवा, निर्वाचन कार्यालयको अधिकारी, मतदातालगायतको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम गर्ने, तेस्रोमा कांग्रेसका स्थानीय नेताहरूको उपस्थितिमा जेनजी युवालाई व्यापक दल प्रवेश कार्यक्रम आयोजना गर्ने उल्लेख गरिएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई शान्ति, अमन चयनको व्यवस्था मिलाउन ध्यानाकर्षण पत्र बुझाउने, मतदातालक्षित सचेतना कार्यक्रम आयोजना गर्ने, स्थानीय सरकारबाट हुने विकास कार्यक्रममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने विषय पनि परिपत्रमार्फत निर्देशन गरिएको छ ।
यस्तै तरुण दलको सदस्यता वितरण कार्यलाई तीव्रता दिँदै पाँचौँ महाधिवेशनको तयारीस्वरुप जिल्ला अधिवेशनको तयारी गर्ने र पूर्ण सदस्यता केन्द्रबाट स्वीकृत भइसकेपछि मात्र अधिवेशनको कार्यक्रम सुरु गर्न समेत निर्देशन दिइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology