बुटवल । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०८२ शनिवार पहिलो बिदाको दिन दर्शकको उल्लेख्य भीडले भरिएको छ । बिहानैदेखि बढेको चिसोका बाबजुद प्रदर्शनी स्थलमा अवलोकनकर्ताको चहलपहल कम भएन ।
राष्ट्रिय कलाकार अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेशराज भट्टराईको प्रस्तुतिले दर्शकलाई उत्साहित बनाएको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले बताए । उनका अनुसार पहिलो बिदाको दिन पर्नु र चर्चित कलाकारहरूको उपस्थिति नै शनिवार दर्शक संख्या बढ्नुको मुख्य कारण हो । आइतवार हेमन्त शर्मा र भूमिका गिरीलगायतका कलाकारहरूको प्रस्तुति रहने जानकारी पनि उनले जानकारी दिए । गेट टिकट उपसमितिका संयोजक राजु घिमिरेले शनिबार अहिलेसम्मकै धेरै दर्शकले प्रदर्शनी अवलोकन गरेको बताए ।
शनिवार भारतको उत्तर प्रदेशस्थित गिडा औद्योगिक क्षेत्रका उद्योगी तथा पदाधिकारीहरू पनि प्रदर्शनी अवलोकनका लागि बुटवल पुगेका छन् । प्रचार-प्रसार संयोजक इञ्जिनियर किरण खरेलका अनुसार रुपन्देही उद्योग संघले भारतमै पुगेर प्रदर्शनी अवलोकनका लागि आमन्त्रण गरेपछि भारतीय उद्योगीहरूको सहभागिता बढेको हो ।

प्रदर्शनी स्थलमा नेपाल पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको फोटो प्रदर्शनी अवलोकन गर्न प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, सदस्य सन्तराम बिडारी र सहप्रशासकीय अधिकृत रामशरण बोहोरा पुगेका थिए । डा. आचार्यले प्रदर्शनीमा राखिएका तस्बिरहरूले पत्रकारिताको इतिहाससँगै यस क्षेत्रको पुरानो अवस्थालाई उजागर गरेको उल्लेख गर्दै यसलाई अझ व्यवस्थित रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।
रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नारासहित बिहीबारदेखि सुरु भएको प्रदर्शनीको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गरेका थिए । बुटवल मण्डपमा निर्माणाधीन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गरिएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियन निर्माण गरिएका छन् । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको र सबै स्वदेशी उद्योगहरू मात्रै समेटिएको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरणलाई मुख्य उद्देश्य बनाएर सञ्चालन गरिएको प्रदर्शनीमा करिब ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य रहेको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले बताए । प्रदर्शनीलाई थप आकर्षक बनाउन लोकदोहोरी प्रतियोगिता, ख्यातिप्राप्त आधुनिक गायक–गायिकाका प्रस्तुति, हास्य कलाकार, ब्याण्डहरूको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल र भजन प्रतियोगितालगायतका कार्यक्रम समेटिएको महासचिव सुमन बस्यालले जानकारी दिए ।
प्रदर्शनीमार्फत प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धा विकास गर्ने, उद्योगीहरूबीच समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने तथा सूचना र प्रविधिको विकास र आदान-प्रदानलाई अघि बढाउने उद्देश्य राखिएको कोषाध्यक्ष विशाल वेल्वासेले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology