बुटवल । बुटवलको औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले व्यवस्थापन गरेको फोटो प्रदर्शनीले पत्रकारिता, उद्योग, पर्यटन, वातावरण र संस्कृतिलाई एउटै थलोमा जोड्ने महत्वपूर्ण भूमिका खेलेको छ ।
रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म संचालन हुने १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र राखिएका पुराना क्यामेरा, टाइपराइटर, प्रेस उपकरण, ऐतिहासिक फोटो, प्रकाशित पत्रिका र अभिलेख सामग्रीले नेपाली पत्रकारिताको विकास यात्रा मात्र देखाएको छैन, समाज परिवर्तनमा मिडियाको भूमिकालाई पनि जीवन्त रूपमा प्रस्तुत गरेको अवलोकनकर्ताले जनाएका छन् ।
यो प्रदर्शनीमा लिथो मेशिन, बाइनकुलर, बाँसको कलम, खड्कशमशेर जुद्धसमशेरको पालाको इँटा, बिसौनी –तराजु), फोटो खिच्ने पुरानो भाडा, पहिले प्रयोग गरिने माइकको ढ्वाङ, पुरनो फोटा छाप्ने मेशिन, टेलिफोन, रेडियो, क्यासेट प्लेयर, प्रोजेक्टर, ग्रामो फोन, भिडियो क्यामेरासहितका पुराना सामग्रीप्रति अवलोकनकर्ताको बढी चासो रहेको र ती सामग्रहीहरुको फोटाभिडियो बनाउनेको भीड लागेको छ ।
फोटो प्रदर्शनीमा उद्योगधन्दा स्थापना हुँदै गरेको अवस्था, परम्परागत उद्योगदेखि आधुनिक उत्पादनसम्मको विकासक्रम, स्थानीय उद्यमशीलताको संघर्ष र सफलताका क्षण समेटिएका तस्बिरले औद्योगिक क्षेत्रको यथार्थ उजागर गरेको उनीहरुको भनाई छ । फोटो प्रदर्शनी अवलोकनमा आएका प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा, सदस्य शान्तराम बिडारी, उपप्रशासकीय अधिकृत रामशरण बोहोरासहितको टोलीले पत्रकारिताको जीवन्त झल्काएको जनाएका छन् ।
पर्यटनसम्बन्धी तस्बिरले लुम्बिनी, पहाड-तराईका प्राकृतिक गन्तव्य, सांस्कृतिक सम्पदा र ग्रामीण पर्यटनको सम्भावना उजागर गरेका छन् । ती तस्बिरले पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिकालाई बलियो बनाउँदै दृश्य सञ्चार कति प्रभावकारी हुन्छ भन्ने प्रमाणित गरेका छन् । धेरैले नाम मात्रै सुनेका स्थानलाई प्रत्यक्ष देख्न पाउँदा आन्तरिक पर्यटनप्रति चासो बढ्ने अपेक्षा गरिएको प्रदर्शनीको प्रचार प्रसार संयोजक इं किरण खरेलले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology