सुमन गाहा, पाल्पा । जिल्लाको रैनादेवी छहरा–१, सिद्धेश्वरमा सञ्चालित चुनढुङ्गा खानीका कारण यहाँको खानेपानी आयोजनाको काम प्रभावित बनेको छ । सिद्धेश्वरका करिब पाँच सय घरधुरीका लागि छ वर्षअघि मर्याङ्दी–चिसापानी खानेपानी आयोजनाको काम सुरु भएपनि खानीका कारण लामो समयसम्म आयोजना प्रभावित बनेको हो ।
खानेपानीको मुहानमाथि शिद्धेश्वरको तल्लो असारेमा सर्वोत्तम सिमेन्ट प्रालिले विगत चार वर्षयता चुनढुङ्गा उत्खनन् गरिरहेको छ । चुनढुुङ्गा उत्खनन्ले मर्याङ्यादी–चिसापानी खानेपानी आयोजनाको कामलाई प्रभावित पारेको स्थानीय बासिन्दाको गुनासो छ ।
आव २०७३/०७४ मा चार करोड ९८ लाख रुपियाँको लागतमा खानेपानी आयोजनाको काम सुरु भएपनि खानीका कारण पानीको पाइपलाइन परिवर्तन गर्न बाध्य भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर विकले बताए । चुनढुङ्गा खानीका कारण पानीको मुहानमा बनाएको ट्याङ्की अर्को स्थानमा बनाउनु परेको र पहिले बनाउन भनेको पाइपलाइन समेत परिवर्तन गर्नुपर्दा योजनाको काम समयमै सम्पन्न गर्न नसकेको विकले बताए । खानीपानीको मुहानमाथि नै चुनढुङ्गा उत्खनन् भएपछि मुलको ट्याङ्की नै सार्नुपरेको विकको भनाइ छ ।
यस्तै पहिले पानीको पाइपलाइन सर्भे गरेको स्थानमा खानी उद्योगले चुनढुङ्गा उत्खनन् गरेपछि उक्त पाइपलाइनसमेत परिवर्तन गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्राविधिक रोमाकान्त अधिकारीले बताए ।
चुनढुङ्गा खानी उद्योगका कारण दुई वर्षभित्रै सम्पन्न हुने योजनाको काम समयमै सम्पन्न गर्न ढिला भएको थियो । उनले भने, अब कुनै अबरोध भएन भने आगामी असारभित्र योजनाको काम सम्पन्न हुन्छ । हालसम्म यो योजनाको ७० प्रतिशत काम पूरा भएको उनले जानकारी दिए ।
खानीका कारण योजना प्रभावित बनेपछि सिद्धेश्वरको तल्लो असारे, माथिल्लो असारे, भुटुक्दी, मनबाकलगायतका स्थानका बासिन्दाले समयमै पिउने पानीको उपभोग गर्नबाट बञ्चित हुनुपरेको छ । स्थानीय बासिन्दालाई चुनढुङ्गा खानीको माथिल्लो स्थानबाट फ्याकेका गग्रेटा, माटो र ढुङ्गा पानीको मुहनासम्म पुग्ने हो कि भन्ने चिन्ता लागेको छ । ‘खानेपानी योजनाको काम सुरु भएको छ । सात वर्ष भइसक्यो । स्थानीय बासिन्दा तुलाराम गरम्जाले भने, 'खानीले गर्दा समयमै पिउने पानी पाउन सकेका छैनौँ खानीबाट बगेका बस्तुले मुहान नै बगाउने हो कि ।’
सर्वोत्तम सिमेन्टका कारण यहाँका बासिन्दाले धुलोबाट समेत पीडित बनेका छन् । खानी नजिकै बस्ती भएकाले अधिकांश समयमा खानीबाट निस्केका धुलो बस्तीभित्रै पुग्ने गरेको प्रभावित क्षेत्रका बासिन्दाको गुनासो छ । खानीस्थलबाट २०/२५ मीटरको दुरीमै तल्लो र माथिल्लो असारे गाउँ छ । खानीबाट नजिकै बस्ती भएकाले खानीबाट उडेको धुलो सिधैँ घरभित्र पस्ने गरेको स्थानीय बासिन्दा नरबहादुर रेश्मीले बताए । ‘खानीका कारण घरभित्र बस्न सक्ने अवस्था छैन, बाध्यताले खानीको धुलो खाएर बस्न बाध्य छौँ', उनले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology