देवदह । देश चुनावमय छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ सिटको लागि ६८ राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । हरेक उम्मेदवारले निर्वाचन प्रचारप्रसार तथा मूल परिचालन कमिटिमार्फत आफ्ना गतिविधि नागरिकमाझ पुर्याइरहेका छन् ।
यसै सन्दर्भमा रूपन्देही क्षेत्र नं १ मा पनि चुनावी माहोल तातेको छ । स्वतन्त्रसहित ३१ उम्मेदवार प्रतिष्पर्धामा छन् । जसमध्ये गतनिर्वाचनको नतिजा र दलका गतिविधिका आधारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चर्चामा रहेको देखिन्छ । रुपन्देही -१ मा नेपाली कांग्रेसबाट हिरा बहादुर खत्री, एमालेबाट दधिराम न्यौपाने, नेकपाबाट घनश्याम यादव, रास्वपाबाट सुनिल लम्साल र राप्रपाबाट प्रज्वल बोहरा उम्मेदवार बनेका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खत्री देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हुन् । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस र तत्कालिन माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचन जितेका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा पनि सोही गठबन्धनबाट उम्मेदवार बनेका खत्रीलाई एमालेका ध्रुवप्रसाद खरेलले झिनो मतले पराजित गरेका थिए ।
माओवादी पृष्ठभूमिका एमाले उम्मेदवार न्यौपाने २०७४ सालमा रुपन्देही क्षेत्र १ (ख) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । एमाले र माओवादीको एकीकृत पार्टी नेकपाबाट २०७४ मा निर्वाचन जितेका उनी प्रदेशसभा निर्वाचन २०७९ मा एमाले र राप्रपाको गठबन्धनबाट चुनाव लडेपनि कांग्रेसका (कांग्रेस र माओवादीको गठबन्धनका उम्मेद्वार) अब्दुल रज्जाकसंग पराजित भए । यता नेकपाका उम्मेदवार यादव २०६४ सालको संविधान सभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित सभासद हुन् । तत्कालिन अवस्थामा उनका निकटम प्रतिष्पर्धी कांग्रेसका रज्जाक थिए ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एमाले र राप्रपाको गठबन्धनबाट एमालेका छविलाल विश्वकर्माले संसद भवनमा दोस्रो पटक इन्ट्री गरे । उनले २४ हजार ८८२ (२७.५८) मत प्राप्त गर्दा नेपाली कांग्रेस, तत्कालिन माओवादी केन्द्र र तत्कालिन एकीकृत समाजवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले २१ हजार ३१८ (२३.६३ प्रतिशत) मत प्राप्त गरेका थिए । गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेश बहादुर पछाइले १४ हजार १४५ (१५.६८ प्रतिशत) मत प्राप्त गरेका थिए भने नागरिक उन्मुक्ति पार्टीले १३ हजार ९६२ र जनमत पार्टीले पाँच हजार १६९ मत प्राप्त गरेको थियो ।
२०४८, २०५१ र २०५६ सालमा कांग्रेसका दुर्योधन सिंह, २०६४ मा तत्कालीन माओवादी (हाल नेकपा) का घनश्याम यादव, २०७० मा कांग्रेसका अब्दुल रज्जाक तथा २०७४ सालमा तत्कालीन नेकपा (एमाले र माओवादीको एकीकृत पार्टी) बाट र २०७९ मा एमाले र राप्रपाको गठबन्धनबाट एमालेका छविलाल विश्वकर्माले निर्वाचन जितेको रुपन्देही-१ मा अहिले रास्वपा र राप्रपाका युवा उम्मेदवार पनि मैदानमा छन् ।
यो पटक रुपन्देही १ मा प्रतिष्पर्धामा जोडिएका रास्वपा उम्मेदवार लम्साल सो पार्टीका महामन्त्री हुन् । उनी रास्वपाले निर्वाचनपछि प्रधानमन्त्री बनाउने उद्घोष गरेका बालेन्द्र साह (बालेन) का विश्वास पात्र हुन् । लम्सालको चुनावी अभियानमा पार्टीका केन्द्रीय नेताहरु अर्जुन अधिकारी र सन्तोष गिरीले साथ दिइरहेका छन् ।
यसैगरी राप्रपाका उम्मेदवार बोहरा गत निर्वाचनमा रुपन्देही-३ बाट निर्वाचित सांसद राप्रपाका नेता स्वर्गीय दीपक बोहराका छोरा हुन् ।
त्यसो त कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका हिरा बहादुर खत्री पनि कांग्रेसमा पहुँचवाला नेताको रुपमा परिचित छन् । उनी गगन थापा निकट हुन्, जसलाई कांग्रेसले निर्वाचनपछि देशको प्रधानमन्त्री बनाउने घोषणा गरेको छ ।
यता एमालेका न्यौपाने र नेकपाका यादव दुवै पार्टीका केन्द्रीय सदस्य हुन् । न्यौपानेलाई जिताउन एमालेका केन्द्रीय सचिवसमेत रहेका पुर्व सांसद छविलाल विश्वकर्मासहितको केन्द्रीय टोली मैदानमा छ भने यादवको प्रचार-प्रसारमा सघाउन नेकपाले पार्टीका सदस्यहरु सिद्धिचरण भट्टराई, मौक्सुद अली, मात्रिका यादव लगायतका नेता खटाएको छ ।
नेपाली कांग्रेसले रुपन्देही-१ मा पार्टी जिल्ला सचिव हरि काफ्लेलाई चुनावी कमान्डर बनाएर खटाएको छ । क्षेत्रीय निर्वाचन प्रचार-प्रसार समितिको सह-संयोजक जिल्ला सह-सचिव वासुदेव रिमाल रहेका छन् । कांग्रेसले तीन हजार ७०१ सदस्यीय प्रचार-प्रसार समिति बनाएको छ ।
त्यसैगरी नेकपा एमालेले पार्टीका क्षेत्रीय संयोजक प्रकाश अर्यालको संयोजकत्वमा निर्वाचन मूल परिचालन समिति बनाएको छ । जसमा उनीसहित एक हजार ५०१ सदस्य रहेका छन् ।
यता नेकपाले पार्टीका क्षेत्रीय इन्चार्ज लेखनाथ न्यौपानेको संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति बनाएको छ । मूल परिचालन समितिमा एक हजार ५५५ जना सदस्य रहेका छन् ।
रास्वपाले पार्टीका प्रदेश सदस्य प्रेम खत्रीको संयोजकत्वमा परिचालन समिति बनाएको छ । उनको संयोजकत्वमा ९ जनाको टिमले रास्वपाको चुनावी अभियानको प्लानिङ्ग गरिरहेको छ ।
राप्रपाले ३४ सदस्यीय क्षेत्रीय निर्वाचन समिति बनाएको छ । राम नरेश कुँहारको संयोजकत्वमा निर्वाचन समिति बनेको र घरदैलो अभियान सुरु भैसकेको उम्मेदवार बोहराका मिडिया संयोजक धर्म केसीले जनाकारी दिए । 'आन्तरिक र बाह्य तयारीको काम भइरहेको छ । क्षेत्रीय कार्यालय उद्घाटन र पार्टीको बैठकसंगै घरदैलो पनि चलिरहेको छ' संयोजक केसीले भने ।
यसरी हेर्दा रुपन्देही–१ मा यसपटकको निर्वाचन अघिल्ला चुनावको मतपरिणाम, पुराना राजनीतिक आधार र नयाँ शक्तिको चुनौतीबीच रोचक मोडमा पुगेको देखिन्छ । कांग्रेस, एमाले र नेकपाजस्ता स्थापित दलले ठूला परिचालन समिति र केन्द्रीय नेताको सक्रियतामार्फत आफ्नो पकड मजबुत बनाउने प्रयास गरिरहेका छन् भने रास्वपा र राप्रपाले युवा उम्मेदवार र फरक शैलीको अभियानमार्फत मतदाता आकर्षित गर्ने रणनीति लिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology