भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले भारतबाट अनियन्त्रित रुपमा भित्रिरहेको तरकारीका कारण स्वदेशी उत्पादन खेर जाने अवस्था आएको बताएका छन् । ठूलो मात्रामा भारतबाट भित्रिने तरकारीमा रोक लगाएर नेपाली उत्पादनले मूल्य पाउने र किसानको जीवनस्तरको उकासिने व्यवस्था गर्ने उनले बताए ।
आफ्नो निर्वाचन क्षेत्रमा अधिकांश बासिन्दा कृषिमा निर्भर भए पनि उनीहरुले उत्पादनको मूल्य प्राप्त नगरेको बताए । तर, प्रत्येक वर्ष उत्पादन खेर जाने गरेकाले किसानको लगानी डुबिरहेको उनले जनाए । भारतबाट ठूलो परिमाणमा भित्रिने तरकारीका कारण नेपाली किसान र उत्पादन प्रभावित भइरहेको उनको भनाई छ । त्यसैले नेपाली किसानले धेरै मात्रामा उत्पादन गर्ने तरकारी लगायत कृषि उपजको बजारीकरण गर्ने योजना आफूले तयार गरेको राप्रपा उम्मेदवार बोहराले जनाए ।
नेपाली उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट ठूलो परिमाणमा आयात हुने कृषि उपजमा धेरै कर लगाएर भए पनि आयात रोक्नु पर्नेमा उनको जोड छ । उच्च करसँगै आयातमा कोटा निर्धारण गरेर भए पनि भारतबाट तरकारी लगायत कृषि सामाग्रीको आयात रोक्नु पर्नेम उनले जोड दिए ।
रुपन्देही–१ मा टमाटर लगायतका अन्य तरकारी उत्पादन धेरै हुने गरेको छ । तर, किसान २–३ रुपैयाँ प्रतिकिलो बिक्री गर्न बाध्य रहेको उनले बताए । त्यसैले धेरै उत्पादन हुने टमाटर जस्ता कृषि उपजले मूल्य पाउने गरी प्रवद्र्धन गर्न आफूले नीतिगत देखि बजार सुधारमा भूमिका खेल्ने बताए ।
धान, गहुँ, तरकारीसहित अन्य उत्पादनको बजारीकरण गरी किसानलाई मुनाफा दिलाउनु आफ्नो उद्देश्य रहेको बोहराको भनाई छ । स्वदेशी उत्पादनको प्रयोगले किसान, उपभोक्ता र मुलुकलाई फाइदा पुग्ने उनले जनाए । ‘हामीले स्वदेशी उत्पादनलाई खपत गर्ने नीति अबलम्बन गरी गैरकानूनी आयात रोक्न लाग्नेछौं’, उनले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology