काठमाडौँ । म्यानमारमा सञ्चालन भइरहेको अनलाइन ठगी केन्द्रमा फसाइएका तीन जना नेपाली नागरिकको उद्धार गरिएको छ।
नेपाली राजदूतावास बैंककका अनुसार विभिन्न प्रलोभनमा परी म्यानमार पुगेका ती नेपालीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रमा काम गर्न लगाइएको थियो । राजदूतावासले म्यानमार र थाइल्याण्डका सम्बन्धित निकायसँग समन्वय गरी म्यानमारको म्यावडी क्षेत्रबाट उनीहरूको उद्धार गरेको जनाएको छ ।
उद्धार गरिएका तीनै जनालाई फागुन २७ गते बैंककबाट नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत नेपाल फर्काइएको राजदूतावासले जानकारी दिएको छ ।
राजदूतावासले वैदेशिक रोजगारीमा जानुअघि नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरेको छ । साथै छिटो र धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता देशमा भ्रमणको बहाना गरेर रोजगारीका लागि नजान पनि सबैलाई नेपाली राजदूतावास बैंककले आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology