देवदह । देवदहको भवानीपुरमा रामनवमी मेला संचालन हुने भएको छ । आइतवार पत्रकार भेटघाट गर्दै आयोजक संस्था कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिले चैत्र १२-१४ गतेसम्म मेला संचालन हुने जनाएको हो ।
संस्थाका अध्यक्ष अमर राज पोखरेलले मेला तीनदिसम्म संचालन हुने र ३० हजार बढीले अवलोकन गर्ने लक्ष्य लिइएको बताए । मेलामा एक सय ६० वटा स्टल सहभागी हुने उनको भनाइ छ ।
मेला व्यवस्थित रूपमा संचालन गर्न विभिन्न उपसमिति गठन गरिएको उल्लेख गर्दै पोखरेलले प्रचार-प्रसारलाई तिब्रता दिइएको बताए ।
मेलाका सल्लाहकारसमेत रहेका देवदह नगरपालिका वडा नं ४ का अध्यक्ष दमननाथ रेग्मीले मेलाको लागि नगरपालिकाको समन्वयमा वडा कार्यालयले तीन लाख रुपैयाँ विनियोजन गरेको बताए । समग्र मेलामा साढे तीन लाखको हाराहारीमा खर्च हुने अनुमान गरिएको उल्लेख गर्दै वडा अध्यक्ष रेग्मीले स्टलबाट समेत शुल्क संकलन हुने हुँदा आर्थिक समस्या नहुने बताए ।
'भवानीपुरमा परापूर्वकालदेखि रामनवमी मेला लाग्ने गरेको छ ।' उनले भने, 'यसको प्रचार-प्रसारमा मिडिया क्षेत्रको सहयोग आवश्यक छ ।'
मेलामा भजन प्रतियोगिता, ढकिया दौड, हण्डी फोर, कुर्सी दौड लगायतका कार्यक्रमसमेत संचालन हुने आयोजकले जनाएको छ ।
मेलाका प्रचार प्रसार संयोजक भिम प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सांस्कृतिक उपसमिति संयोजक दिनेश चौधरीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology