रमेश बहादुर सिह, बझाङ । हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ बर्षिय पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माईन् । एकसाता पहिला वडा नम्बर १ मा रहेको बिच्छयाँ स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिन जाने बेला बिच बाटोमै पार्वतीले छोराको जन्म दिईन् ।
गाउँबाट स्वास्थ्य चौकी निकै टाढा भएकाले स्वास्थ्य चौकि लिदै गर्दा बाटोमै पार्वतीले छोरा जन्माएको बिच्छयाँ स्वास्थ्य चौकिका ईन्चार्ज विमला पाण्डेले बताईन् ।
संयोगबस स्वास्थ्यकर्मी गाउँमा स्वास्थ्य शिक्षा र उपचार गर्न जान लागेका थियौ, बाटोमै व्यथा लागेर छट्पटाइरहेकि थिईन्, वाटोमै सुत्केरी गराउन सहयोग गरेको अनमि सरिता घिसिङ्गले वताईन् । पार्वतीले पहिलो बच्चा भने घरमै जन्माएकि थिईन्, दोस्रो बच्चा बाटोमा जन्माएकी हुन् ।
पार्वती एक उदाहरण हुन्, साविकको बिच्छयाँ गाबिसमा बाटोमा र घरमा बच्चा जन्माउने संख्या निकै रहेको बिच्छयाँ स्वास्थ्य चौकिका ईन्चार्ज विमला पाण्डे बताउँछिन् । बिच्छयाँका गाउँहरु स्वास्थ्य चौकि भन्दा निकै टाढा रहेका छन्। स्वास्थ्य चौकि टाढा भएकोले धेरैले बाटोमै बच्चा जन्माउने गरेको विमलाको भनाइ छ ।
हिमाली गाउँपालिका १, २ र ३ वटा वडा साविकको बिच्छयाँ गाबिस हो । बाजुराको ३५ प्रतिशत भुगोल यो क्षेत्रले ओगटेको छ ।
बिच्छयाँका कोट, कोटि गाउँ, नाति खोला, रम्दी, बामु, युना, बौडी गाउँ स्वास्थ्य चौकि बाट २ घण्टा टाढा देखि एक दिनको दुरिमा रहेका छन् । गुम्बा, लाम्पाटा गाउँ भने बिच्छयाँ स्वास्थ्य चौकी बाट दुईदिनको दुरीमा रहेका छन् ।
बिच्छयाँ स्वास्थ्य चौकी बाट १ घण्टा भित्र पुग्ने टिन र नेटा गाउँ मात्र हो । अरु सबै स्वास्थ्य चौकीको पहुँच भन्दा टाढा रहेको स्वास्थ्य चौकिले जनाएको छ । बाटोमा बच्चा जन्माउने मात्र नभई स्वास्थ्य चौकी ल्याउन पनि निकै समस्या हुने गरेको हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष ध्याने रोकायाले बताएका छन् ।
वडानम्बर ३ गुम्बा र लाम्पाटा गाउँका महिलाले कहिले स्वास्थ्य चौकीमा बच्चा नजन्माएको वडा सदस्य जगत बहादुर लामा बताउँछन् । "काम गर्दा गर्दै खेतबारी, जंगल, बाटोमै बच्चा जन्माउने गरेका छन्, हाम्रा लागि त भगवान भरोसा के गर्नु स्वास्थ्य चौकी पुग्न २ दिन लाग्छ । बाटो पनि निकै अफ्ठयारो छ।" वडा सदस्य लामा दुखेसो पोख्छन् ।
हुँदैन नियमित गर्भजाँच
सुत्केरी महिलाले बाटोमै बच्चा जन्माउनुपर्ने यहाँ नियमित गर्भजाँच निकै टाढाको बिषय बनेको छ ।
स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दायकृष्ण पन्त घरमा र बाटोमै बच्चा जन्माउनेको संख्या निकै रहेको बताउछन् । उनी भन्छन्, 'गर्भावस्थामा जाँछ गर्ने कुरा त निकै टाढाको विषय हो । भौगोलिक रुपमा विकट तथा सबै गाउँमा स्वास्थ्य केन्द्रको पहुँच नहुँदा समस्या भएको पन्तको भनाइ छ ।
गत कार्तिक महिनामा अत्याधिक रक्तस्राबले हिमाली गाउँपालिका ४ तिथिचौरमा बस्ने २१ बर्षिय गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तस्राबका कारणले बाटोमै मृत्यु भएको थियो । बाजुरामा ३ बर्ष यता ८ जना सुत्केरीको मृत्यु भइसकेको छ ।
गर्भवती भएपछि नियमित गर्भजाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था पुर्याउन नसक्दाको कारण धेरै गर्भवती दिदी बहिनी कष्ट बेहोर्नु परेको र कतिपयले अकालमै मृत्युवर्ण गर्नुपरेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्का बताउँछन् ।
त्यसैगरी यहाँ अर्को सुत्केरी भएको बेला सुत्केरी आमाले प्रयाप्त आराम समेत पाउँदैनन् । पोषिलो खानेकुरा नखाने र कडा परिश्रमले समेत सुत्केरी महिला ज्यान गुमाउने गरेको खड्काको भनाइ छ ।
बाजुरामा तथ्याङ्क उल्लेख नभएपनि एक महिना एकदेखि दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खड्काले बताए ।
त्यसो त यस क्षेत्रमा सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ । तर पनि बाटोमा बच्चा जन्मिने र उपचार नपाएर सुत्केरी महिलाले ज्यान गुमानेक्रम रोकिएको छैन ।
कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँचबाट बिमुख हुनु जस्ता समस्याले बाजुराका आमाहरुको प्रजनन स्वास्थ्य निकै विग्रीएको स्थानीय महिला अगुवाहरू बताउँछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology