विराटनगर । मोरङको लेटाङ नगरपालिकामा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शनिबार अपराहन्न करिब ११:५५ बजे लेटाङ नगरपालिका-५ कानेपोखरीस्थित सडकमा कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको परीक्षण नगरिएको सिटी अटो अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले चारै जना घाइतेको उद्धार गरी एपेक्स अस्पताल, लेटाङ पुर्याएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ नगरपालिका-६ का ६० वर्षीय मुनराज लावतीलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिटी अटो चालक लेटाङ नगरपालिका-६ का करिब ४० वर्षीय वीरबहादुर राई, सोही स्थानकी करिब २७ वर्षीया शान्ति राई र लेटाङ नगरपालिका-५ की करिब ५० वर्षीया अनु राई घाइते भएका छन्। उनीहरूको एपेक्स अस्पताल, लेटाङमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology