काठमाडौँ । पूर्व अर्थमन्त्री समेत रहेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताएका छन्।
उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताए। उनले नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरु चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गरे।
उनले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएको उल्लेख गर्दै बालुवा चुसेजस्तो निरस भएको टिप्पणी गरे।
उनले भने, ‘गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ। यो इतिहासकै सबैभन्दा नालायक, सारहीन, दिशाविहिन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरस छ यो। यसमा कुनै दृष्टिकोण छैन। कुनै गन्तव्य छैन। यसले मुलुकका आजका समस्या चिनेको छैन। समाधान दिने यसमा कुनै दृष्टिकोण छैन। समयको अपव्यय मात्रै हो यो।’
उपाध्यक्ष पौडेलले सरकारले अवलम्वन गरेका नीति तथा निर्णयहरुका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको बताए। उनले आर्थिक संकटको बारेमा सरकार मौन रहेको उल्लेख गरे। विगतमा सकारले गरेका राम्रा कामहरुलाई यस सरकारले निरन्तरता नदिइ नीति तथा कार्यक्रम पूर्वाग्रही रुपमा ल्याएको उनको भनाइ छ।
उनले भने, ‘आजका आर्थिक संकटको कारणको बारेमा यो सरकार पस्नै चाहँदैन । किनभने यो सरकारकै कारणले गर्दा, यसले अवलम्वन गरेका नीतिका कारणले गर्दा, यसले गरेका निर्णयहरुका कारणले गर्दा मुलुक आर्थिक रुपमा भयानक संकटको सम्मुखमा आइपुगेको छ। तर त्यसप्रति यसले चुप्पी साँधेको छ। मानौँ, यसमा मुलुकको अर्थतन्त्र सबै लयमा छ, ठीकठाक छ, भनेजस्तो गर्या छ। यो नीति कार्यक्रम पूर्वाग्रही पनि छ। सरकार निरन्तरतामा चल्ने, बुझिने चिज हो। हिजोका राम्रा कामहरुलाई तिनको निरन्तरतामा सरकार अगाडि बढ्नुपर्ने हो। तर हिजोका राम्रा कामहरुलाई यसले निरन्तरता दिन चाहेको छैन।’
नीति तथा कार्यक्रमले विगतमा अगाडि बढाइएका राष्ट्रिय गौरवका आयोजनाहरुका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको उनको भनाइ छ। राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुलाई अगाडि बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको उनले आरोप लगाए।
स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको उल्लेख गर्दै उनले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न भयो भनेर जनतालाई गुमराह गर्ने कोशिस भएको आरोप लगाए। नीति कार्यक्रम भाषिक दृष्टिकोणले पनि कमसल रहेको उनले बताए। यसले मुलुकलाई कुनै नतिजा दिन नसक्ने उनले दाबी गरे।
उपाध्यक्ष पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरु हुने बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology