Logo

२०८३, आश्विन २५गते


images
images

पुस्तक समीक्षा

'बुद्धको मामाघर' : देवदहलाई बुझ्ने आँखीझ्याल

'बुद्धको मामाघर' : देवदहलाई बुझ्ने आँखीझ्याल

images
  • सेतोमसी सहकर्मी
  • 'बुद्धको मामाघर' : देवदहलाई बुझ्ने आँखीझ्याल
    images
    images

    धेरै वर्ष भएको छैन, देवदहका स्थानीय पाठयक्रम अनुसार हाम्रो देवदह विषय पढाउन थालिएको । देवदहको परिसर, त्यहाँको इतिहास, वर्तमान अवस्थाको सांस्कृतिक, भौगोलिक, व्यापारिक, धार्मिक, सामाजिक तथ्य र कथ्यलाई समष्टिगत रुपमा किताबी स्वरुपमा लिपीबद्ध गरिएको ‌। त्यही हाम्रो देवदह पाठ्यक्रमका एक लेखक हुन् निर्मल ढुङ्गाना, जसले निकालेको कृति “बुद्धको मामाघर” विमोचन भएको दुई साता पनि भएको छैन, यद्यपि चर्चा व्यापक छ ।

    images
    images
    images

    यसअघि दिन हराएको दिन (२०६१) र नओइलिने फूलहरु (२०६५) गजलसङ्ग्रह र बतासा कथासङ्ग्रह प्रकाशित ढुङ्गानाको यो चौथो कृति तथा पहिलो खोजमूलक कृति हो । साहित्यिक पक्षभन्दा अनुसन्धानात्मक पक्ष सबल रहेको यस कृति लेखन तथा प्रकाशन चुनौतिपूर्ण रहेको हुन सक्ने कुरा आँकलन गर्न सकिन्छ ।

    images
    images
    images

    शिखा बुक्सद्वारा प्रकाशित र अनुराग साहित्य समाजद्वारा एक कार्यक्रममा यही श्रावण १६ गते शनिबार विमोचित कृति “बुद्धको मामाघर”, देवदहको बारेमा लेखिएको अनुसन्धानमूलक कृति हो । १८६ पृष्ठ विषयवस्तु र बाँकी भूमिका, धन्यवाद, सन्दर्भ सामग्री रहेको कृतिको प्रकाशित मूल्य ६०५ रहेको छ । कृतिमा प्रा. डा. गीतु गिरीको भूमिका, प्रा. डा. वसन्त बिडारीको संक्षिप्त टिप्पणी र लेखक ढुङ्गानाको लेखकीय रहेको छ । २०८३ साउनमा पहिलो संस्करण प्रकाशित मध्यम आकारको यस कृतिको वितरक ज्ञानज्योति बुक्स रहेको छ ।

    images
    images
    images

    यस कृतिलाई लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौद्ध दर्शनमा स्नातकोत्तर गरेका र बौद्ध दर्शनमै विद्यावारिधि गर्दै गरेका ढुङ्गानाको वर्षौँदेखिको बौद्ध शिक्षा अध्ययन, अध्यापन र अनुसन्धानको समायोजित स्वरुप मान्न सकिन्छ । विपश्यना ध्यानको अभ्यास, बौद्ध दर्शनको अध्ययन र नियमित बौद्ध दर्शनबारे स्तम्भ लेखनले यो कृति वास्तवमै बुद्धको जीवनी, शिक्षा र देवदहसँग नजिकैबाट जोडिएको बुझ्न सकिन्छ ।‌ विभिन्न ग्रन्थ, लेख, कृति, किताब, अनलाइन सामग्री, बौद्ध दर्शनका सामग्री अध्ययन गर्ने क्रममा पाएको दुर्बोध ज्ञानलाई लेखकले सरल र सबैले बुझ्ने भाषामा लेखेका छन्, रङ्गीन चित्रहरुको प्रयोगले कृति सजीव लाग्छ, यद्यपि, कुनै ठाउँमा भएको पालि भाषाको प्रयोगले नवपाठकहरुलाई पढ्न अप्ठ्यारो नहोला भन्न सकिन्न ।

    कृति पठनीय छ, विशेषतः देवदहमा बसोबास गर्ने सबै देवदहवासीले यसको एकपटक अध्ययन गर्नुपर्ने देखिन्छ । आफू बसोबास गरिरहेको स्थलको भूगोल अध्ययन गर्नु हाम्रो नीतिगत दायित्व पनि हो ‌। मूलतः, देवदहका बुद्धिजीवी वर्ग, प्रशासनिक तथा राजनीतिक वर्ग र शैक्षिक वर्गले यसको मिहीन अध्ययन गरी यसको गुह्य तत्व बुझ्नु आवश्यक छ । हरेक विद्यालयमा यो कृति पुस्तकालयमा राखी विद्यार्थीलाई यसको बारेमा जानकारी दिनु जरुरी छ । यसका लागि लेखकलाई पूरा देवदहले नै धन्यवाद भन्नुपर्ने देखिन्छ ।

    बुद्धको मामाघर भनिएतापनि यो कृति हालको देवदहमा मात्र आधारित नभई प्राचीन देवदहका बारेमा छ, जसलाई रोहिणी नदीदेखि पूर्व, चुरेदेखि दक्षिणको भूभाग भनी चित्रण गरिएको छ । जस अन्तर्गत, वर्तमान देवदह नपा, रोहिणी गापा, रामग्राम नपा, सुनवल नपा, बर्दघाट नपाका थुप्रै ठाउँहरुका बारेमा उल्लेख छ । यसर्थ पनि, यो केवल देवदहका १२ वटा वडाको इतिहास मात्र नभई बौद्धकालीन देवदहको ऐतिहासिक दस्तावेज हो भन्ने कुरा स्पष्ट हुन्छ र यसले नै यो कृतिको महत्त्व अझ बढाउने काम गर्दछ ।

    कृतिको नामले बुझाए अनुसार जान्नुपर्ने विषय, देवदह बुद्धको मामाघर रहेको कुरा हो ।‌ देवदह, जुन बौद्धकालीन कोलिय राज्यको राजधानी रहेको र सिद्धार्थ गौतम (शाक्यमुनि बुद्ध) का माताद्वय महामाया (मायादेवी) र महाप्रजापति (प्रजापति गौतमी) को माइती थलो रहेको कुरा उल्लिखित छ । साथसाथै, सिद्धार्थपत्नी यशोधरा पनि यही राज्यकी राजकुमारी र मायादेवी-प्रजापतिकी दाइकी छोरी भएकाले देवदह सिद्धार्थको ससुराली पनि रहेको जानकारी पाउन सकिन्छ । यसले पनि देवदहलाई नेपालको बुद्धसँग सम्बन्धित चार महत्त्वपूर्ण धाममा नामाङ्कन गर्न पुग्छ । यसका साथै लुम्बिनी, कपिलवस्तु र रामग्राम अन्य महत्त्वका ठाउँहरु रहेका छन् ।       

    देवदह केवल त्रि-देवीको जन्मस्थल भएर मात्रै चर्चित हुनुपर्ने होइन कि सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेर बुद्ध बनेपछि आएर ज्ञान देशना गरेका कारणले पनि महत्त्वपूर्ण रहेको अहम् तथ्य कृतिकारले प्रस्तुत गरेका छन् । बुद्धकै पालामा शाक्य र कोलिय वंशका बीचमा रोहिणी नदीलाई लिएर भएको विवाद र त्यसलाई सुल्झाउन बुद्धले सुनाएको जातक कथाको महत्त्व पनि यहाँ उल्लिखित छ, जुन बौद्ध दर्शन अध्येता बाहेक सामान्य जनमानसमा विरलै जानकारी हुन्छ । यति महत्त्व भइरहँदा पनि पछिल्लो समयमा लुम्बिनी, कपिलवस्तु र रामग्रामले महत्त्व पाइरहँदा बौद्धमार्गीबीच देवदह किन अज्ञात रहेको छ भन्ने कुरा यहाँ विस्तृत रुपमा लेखिएको छ । यी र यस्ता थुप्रै अकथित तथ्यले पनि कृतिलाई पढ्नैपर्ने बनाएको छ‌ ।

    यस कृतिमा बौद्ध कालीन इतिहासमा कथित देवदह गाउँ, कोलिय राज्य, शाक्य राज्य, राम ग्राम, रोहिणी नदीको वर्तमान स्थान, परिवेश र स्वरुपको तुलनात्मक जानकारी प्रस्तुत छ । देवदहका आसपासका स्थानहरु जस्तै भवानीपुर, वैरीमाई, कन्यामाई, मङ्गलपुष्करिणी दह, खयरडाँडा, रोहिणी नदी, घोडाहाको महत्त्व विभिन्न ग्रन्थमा उल्लिखित तथ्यसहित लेखिएको कुरा र देवदह सँगसँगै रामग्राम स्तुप, पण्डितपुर गाउँ, समरीमाई र यहाँ वरिपरिका ताल, गुम्बा र तत्कालीन दरबार, घर, स्मारकका भग्नावशेषहरुको इतिहासको संक्षिप्त वर्णन गरिएको छ । त्यो पनि जान्न महत्त्वपूर्ण छ र त्यसका लागि कृति नै पढ्नुपर्छ ।

    बुद्धको मामाघर भनेर हामी देवदहवासीले गर्व गरिरहँदा अन्तर्राष्ट्रिय स्तरमा यस तथ्यको वैधानिकता स्पष्ट नहुनाले यो कथ्यमा सीमित हुन पुगेको अवस्था छ । अन्य स्थानमा पनि देवदह, मङ्गलपुष्करिणी, रामग्राम जस्ता स्थान रहेको र भग्नावशेष उत्खनन गरिएको तर्क यसमा प्रस्तुत छ, जसले, के वास्तवमै देवदहमा यसको इतिहास चीरफार गर्न सक्ने गरी अध्ययन, अनुसन्धान भएकै छ त भन्ने गम्भीर प्रश्न जाहेर गरेको छ ।

    विभिन्न बौद्ध भिक्षुहरु र पुराना लेखकहरुको अध्ययन, अनुसन्धान, वृत्तान्त, यात्रा संस्मरण, अभिलेखहरुमा देवदहको अवस्थिति, दिशा, दूरीका बारेमा तथ्य भएतापनि ठोस रुपमा अझै पनि पुष्टि नभएकाले यसको विश्वसनीयतामा प्रश्न उठाएको पाइन्छ । हुन त देवदहमा बेला बेलामा उत्खनन कार्य, काष्ठकला पार्क, प्रस्तरकला पार्क बनाई बौद्ध महत्त्वका स्मारकहरु प्रदर्शन गरी देवदहको महत्त्वलाई उजागर गर्ने प्रयास नभएका होइनन् ।‌ यद्यपि, अन्तर्राष्ट्रिय स्तरमा पुख्ता प्रमाणका रुपमा पेश गर्न पर्याप्त नभएकाले यसमा अझै मिहिनेत गर्नुपर्ने देखिन्छ । सरकार र सरोकारवालाहरुको यसमा विशेष ध्यानाकर्षण हुनु आवश्यक छ । लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय, देवदह नगरपालिका र प्रत्येक वडा र त्यहाँका स्थानीयको समन्वयमा वृहत् उत्खनन तथा अनुसन्धान गर्न सकेमा देवदहको औचित्य कायम रहने र यसबारे सबैलाई ज्ञान हुन सक्ने हुनाले यसका लागि लेखकले कृतिमार्फत् आह्वान पनि गरेका छन् ।

    पुस्तकको एउटा पक्ष जुन हुनलाई महत्त्वपूर्ण हो तर कसैलाई खट्किन सक्छ, त्यो हो भाषा । बौद्ध दर्शन वा यसबारे केही जानकारी भएकाहरुलाई यहाँ प्रयोग भएको पालि भाषा पढ्न खासै गाह्रो नहोला, तर केही पाठकवर्गलाई पालिको प्रयोगले धाराप्रवाह अध्ययनमा विराम लगाउन सक्ने देखिन्छ। भाषिक क्लिष्टता सँगसँगै केही ठाउँमा भाषिक अशुद्धता पनि भेट्न सकिन्छ, जसलाई आउने संस्करणमा सुधार्न सकिन्छ । अर्को पक्ष, पृष्ठको स्तरमा पनि हो । किताबमा एउटा पानामा लेखिएका कुरा अर्को पानामा छापिएजसरी देखिन्छन् जसका कारण कुनै बेला त अक्षर खप्टिएजस्तो देखिएर पढ्नमा कठिन हुन्छ । यसलाई पनि आगामी संस्करणमा सुधार्न सके उच्चस्तरीय पठनीय कृति बन्ने सक्ने देखिन्छ ।

    समग्रमा, देवदह र वरिपरिको भूगोलमा बाँचिरहेका सबैले यो पुस्तक अध्ययन गर्ने मात्र होइन, यसको वैज्ञानिकता र वैधानिकता तर्कसङ्गत छ कि छैन भनेर पहिल्याउन अनुसन्धानलाई बढावा दिनुपर्ने देखिन्छ । अन्यथा, आजको यति महत्त्वपूर्ण स्थान पनि भोलिका दिनमा बौद्धकालीन अन्य स्थानसरह विस्मृत वा विस्थापित हुने त होइन भन्ने गम्भीर प्रश्न खडा हुन पुग्छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरुयोजना पूर्ण गर्न सके यहीँ अन्तर्राष्ट्रिय स्तरको बौद्ध धर्म सम्मेलन (सङ्गायना) आयोजना गरी सारा विश्वमा देवदहका महत्त्व उजागर गर्न सकिन्छ । गन्तव्य असम्भवप्राय देखिएला, मार्ग कठीन होला तर अवश्य आवश्यक छ ।

    तसर्थ, देवदहको बारेमा यति विस्तृत र महत्त्वपूर्ण कृतिका लागि लेखकमा हार्दिक साधुवाद सहित कृतिको व्यापक सफलताका लागि शुभकामना र यसको अध्ययनका लागि सबैमा विनम्र अनुरोध गर्नु नै पर्ने देखिन्छ ।

    भवतु सब्ब मङ्गलम् । साधु साधु साधु ।।।

    समिन गैरे

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुस्तक समीक्षा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।