पश्चिम नवलपरासी । रसुवामा आएको भीषण बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि राहत तथा पुनःस्थापनाका लागि पश्चिम नवलपरासीका स्थानीय तह, शैक्षिक संस्था र सामाजिक व्यक्तित्वहरू एकजुट भएका छन् । बाढी प्रभावित नागरिकको सहयोगार्थ जिल्लाका पालिका, शैक्षिक सञ्जाल र पूर्व जनप्रतिनिधिमार्फत कुल ३६ लाख ५७ हजार रुपैयाँभन्दा बढी रकम विपद् कोषमा जम्मा गरिने भएको हो ।
बर्दघाट नगरपालिकाद्वारा ३० लाख
बर्दघाट नगरपालिकाले नगरभित्र कार्यरत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिको तीन दिन बराबरको तलब÷पारिश्रमिक र विपद् कोष गरी करिब ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले विपद्को कठिन समयमा पीडितको उद्धार र राहतमा सहयोग पुर्याउनु स्थानीय सरकार र नागरिक सबैको दायित्व भएको बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार शिक्षक, जनप्रतिनिधि र कर्मचारीको ३ दिनको आधारभूत तलबबाट झण्डै २७ लाख र नगरस्तरीय विपद् व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँ गरी सो रकम विपद् उद्धार कोषमा जम्मा गरिनेछ ।
पाल्हीनन्दन गाउँपालिकाको ३ लाख १ हजार
त्यस्तै, पाल्हीनन्दन गाउँपालिकाले पनि रसुवाका बाढीपहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ३ लाख १ हजार रुपैंया सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णचन्द्र यादवको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले गाउँपालिकाको विपद् र प्रकोप व्यवस्थापन कोषबाट सो रकम सोझै प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्जय शर्मा र विपद् व्यवस्थापन संयोजक प्रदीप तिवारीका अनुसार मानवीय सहयोग र सामाजिक उत्तरदायित्व बहन गर्दै प्रभावित नागरिकसम्म छिटो राहत पुर्याउने उद्देश्यले यो निर्णय गरिएको हो ।
रामग्राम नगरपालिका २ लाख ५१ हजार
यसैगरी, रामग्राम नगरपालिकाले पनि बाढी प्रभावितका लागि २ लाख ५१ हजार रुपैंया सहयोग गर्ने निर्णय गरेको छ । नगर प्रमुख धनपत यादवका अनुसार नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट सो रकम राष्ट्रिय विपद् व्यवस्थापन कोषमा जम्मा गरिनेछ ।
जिसन नवलपरासीद्वारा १ लाख ५ हजार हस्तान्तरण
शैक्षिक ऐक्यबद्धताको समूह जिसन नवलपरासीले रसुवाका बाढी प्रभावितका लागि १ लाख ५ हजार रुपैंया सहयोग गरेको छ । अध्यक्ष थमन शेरचन नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालमार्फत उक्त रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो ।
विपद्को घडीमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको अध्यक्ष शेरचनले बताए । संस्थाका पूर्व अध्यक्ष इन्द्र गुरुङ, सचिव बलिराम यादव र प्रमुख सल्लाहकार सन्तोष रौनियारले मानवीय भावनाका साथ सबैले आ(आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने र यसले सामाजिक एकताको सन्देश दिने विश्वास व्यक्त गरे
व्यक्तिगत सहयोग पनि जारी
उता बर्दघाट नगरपालिकाका पूर्व नगर प्रमुख धीरज शर्मा बस्यालले पनि व्यक्तिगत तर्फबाट २५ हजार रुपैंया नगद सहयोग गरेको जनाएका छन् । पीडितहरूलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले राहत कोषमा रकम जम्मा गरिएको बस्यालले बताए ।
पश्चिम नवलपरासीका स्थानीय सरकार, शैक्षिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूबाट प्रदर्शित यो तदारुकता र ऐक्यबद्धताले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापना कार्यमा ठूलो बल पुग्ने अपेक्षा गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology