Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी बारे वैज्ञानिकहरूको अध्ययनले के देखायो ?

भोटेकोशी बाढी बारे वैज्ञानिकहरूको अध्ययनले के देखायो ?

images
  • भोटेकोशी बाढी बारे वैज्ञानिकहरूको अध्ययनले के देखायो ?
    images
    images

    काठमाडौँ । तीव्र गतिमा बढिरहेको तापक्रमका कारण हिमालय क्षेत्रमा हिमनदी, जमिनमुनिको जमेको माटो र चट्टानको स्थायित्व कमजोर बन्दै गएको र यसले एकपछि अर्को जटिल प्राकृतिक विपद्को जोखिम बढाइरहेको एक अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययनले देखाएको छ ।

    images
    images
    images

    अध्ययन नेपाल, पाकिस्तान, बेलायत, आयरल्यान्ड, स्विडेन, डेनमार्क, नर्वे, संयुक्त राज्य अमेरिका, न्युजिल्यान्ड र नेदरल्यान्ड्सका हिमनदी विज्ञान, हिमाली जलविज्ञान, जलवायु विज्ञान, भूकम्प विज्ञान, मानवीय सहायता तथा सामाजिक विज्ञानका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा तयार पारेका हुन् । यो रिपोर्ट https://www.worldweatherattribution.org/ मा प्रकशित गरिएको छ । 

    images
    images
    images

    नेपाल–चीन सीमा क्षेत्रमा गत अगस्ट २६ मा भएको विनाशकारी चट्टान–हिउँ पहिरो त्यसपछि आएको गेग्रानसहितको बाढीमा परिणत हुँदा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।

    images
    images
    images

    सुरुमा भूकम्पका कारण घटना भएको अनुमान गरिए पनि करिब दुई वर्ग किलोमिटर चट्टानी भित्तो र हिमनदीको ठूलो भाग खसेर भूकम्पजस्तो कम्पन उत्पन्न भएको वैज्ञानिकहरूको निष्कर्ष छ । करिब ५ हजार १ सय मिटर उचाइबाट ३ हजार ७ सय ५० मिटर उचाइसम्म चट्टान र हिउँ खस्दा ठूलो ऊर्जा उत्पन्न भएको थियो । त्यस क्रममा हिउँ पग्लिएर र जमिनमुनिको बरफ तथा पानी मिसिएर बाढीको मात्रा थपिएको थियो ।

    बाढीले २२ किलोमिटर दूरी सात मिनेटमै पार गरेको थियो। यसको औसत गति प्रतिघण्टा १ सय ८८ किलोमिटर थियो। रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी हुँदै त्रिशूली उपत्यकासम्म पुगेको बाढीले बस्ती, सडक, पुल, कृषि क्षेत्र र जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो। करिब २ सय किलोमिटर तल देवघाटसम्म सात घण्टाभन्दा कम समयमा पुगेको बाढीको बहाव प्रतिसेकेन्ड ५ हजार ८ सय ५० घनमिटरसम्म पुगेको थियो ।

    वैज्ञानिकहरूले जलवायु परिवर्तनलाई घटनाको एकमात्र कारण नभएर पहिलेदेखि कमजोर भूगर्भीय संरचनालाई थप अस्थिर बनाउने महत्वपूर्ण तत्वका रूपमा व्याख्या गरेका छन्। बढ्दो तापक्रम, जमिनमुनिको जमेको माटो पग्लिनु, हिमनदी पातलिनु र हिउँको सट्टा वर्षा बढ्नुले चट्टान कमजोर बनाउने र पहिरोको जोखिम बढाउने देखिएको छ ।

    अध्ययनअनुसार लाङटाङ लिरुङ क्षेत्रमा हिमनदीको मोटाइ प्रतिवर्ष आधा मिटरभन्दा बढी घटिरहेको छ। सन् २०१० यता हिमनदी पछाडि हट्ने गति पनि तीव्र भएको छ। घटनाअघि जुलाई र अगस्टमा असामान्य रूपमा उच्च तापक्रम रहेको र पछिल्ला दशकमा शून्य डिग्री तापक्रमको सीमा पनि प्रतिदशक करिब १ सय मिटर माथि सर्दै गएको पाइएको छ ।

    २०७२ सालको भूकम्पले पनि लाङटाङ क्षेत्रमा चट्टान–हिउँ पहिरो निम्त्याएको थियो। त्यसले पहाडको चट्टानी संरचना दीर्घकालीन रूपमा कमजोर बनाएको हुनसक्ने वैज्ञानिकहरूले बताएका छन्। तर २०८३ सालको घटनामा त्यसको ठ्याक्कै योगदान कति थियो भन्ने अझै पुष्टि भएको छैन ।

    अध्ययनले नेपालमा रहेका परम्परागत बाढी पूर्वसूचना प्रणालीले सामान्य बाढीको जोखिम घटाउन महत्वपूर्ण भूमिका खेले पनि २६ अगस्टको जस्तो अत्यन्त तीव्र र जटिल विपद्का लागि ती पर्याप्त नभएको देखाएको छ। हिमाली क्षेत्रमा जोखिम निगरानी, हिमनदी तथा चट्टानको निरन्तर अनुगमन, पूर्वसूचना प्रणाली, जोखिम सञ्चार र नेपाल–चीनलगायत हिमाली मुलुकबीच तथ्य तथा सूचना आदानप्रदानलाई थप बलियो बनाउनुपर्ने वैज्ञानिकहरूको सुझाव छ ।

    वैज्ञानिकहरूको निष्कर्षमा जलवायु परिवर्तनले यो घटना अनिवार्य रूपमा गराएको प्रमाणित नभए पनि बढ्दो तापक्रम र हिमाली वातावरणमा भइरहेको परिवर्तनले यस्ता विपद्को जोखिम र सम्भावित क्षति बढाइरहेको उल्लेख छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।