काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दर्ता भएका उमेदवारको प्रारम्भिक सूची सार्बजनिक गरिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरुको प्रारम्भिक सूची सार्बजनिक गरेको हो ।
समितिले आज बिहान १० बजेदेखि १२ बजेसम्म पहिलो नामावलीमाथि दाबी विरोधका लागि आवश्यक कागजातसहित सम्पर्क गर्न सकिने उल्लेख छ । दाबी विरोधको प्रक्रिया पूरा भएपछि अन्तिम उम्मेदवार नामावली सार्वजनिक हुने समितिले जनाएको छ ।
सभापति पदका लागि किशोरसिंह राठौर, गगन थापा र श्यामकृष्ण खड्गी गरी तीन जनाले उम्मेदवारी दिएका छन् । सभापतिका लागि एक पदमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । वरिष्ठ उपसभापति पदमा भने विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी परेको छ । वरिष्ठ उपसभापतिको एक पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएका छन् ।
खुला उपसभापति पदका लागि कुल ९ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ दुई पदका लागि गोविन्द भट्टराई, डा. चन्द्रकान्त भण्डारी, प्रा.डा. चन्द्रमोहन यादव, दीपक गिरी, देवराज चालिसे, धनराज गुरुङ, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, सुरेन्द्रराज पाण्डे उम्मेदवार बनेका छन्।
समावेशी समूहबाट उपसभापतिको उम्मेदवारी भने नामावलीमा जीवन परियार, फरमुल्लाह मन्सुर, विनोदकुमार चौधरी, रञ्जित कर्ण र सीता गुरुङको उम्मेद्वारी दर्ता भएको छ ।
त्यस्तै, महिलातर्फको महामन्त्री एक पदका लागि डा. डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनालले उम्मेदवारी दिएका छन् । खुलातर्फको दुई महामन्त्रीको लागि अमर सिंह पुन मगर, उदयशमशेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, डा. सन्तोष उपाध्याय, डा. सुनिलकुमार शर्मा, शंकर तिवारीउम्मेदवार बनेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology