देवदह । विश्वलाई पोलियोमुक्त बनाउने अभियानप्रति ऐक्यबद्धता जनाउँदै रोटरी क्लब अफ देवदहको आयोजनामा पोलियो सचेतना र्याली हुने भएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा “पोलियोमुक्त भविष्यका लागि सँगै अघि बढौँ” भन्ने सन्देशसहित असोज ३१ गते शनिबार रोटरी क्लब अफ देवदहको आयोजना, इन्टर्याक्ट क्लबहरूको सहभागिता, देवदह साइकल राइडर्स क्लबको समन्वय र देवदह जिम एन्ड फिटनेस सेन्टरको सहकार्यमा र्याली हुने कार्यक्रम संयोजक डोलराज न्यौपानेले जानकारी दिए ।
शनिबार बिहान ७ बजे देवदह-५ स्थित खैरेनी चोकबाट सुरु हुने र्याली खैरेनी, भलुही, रामनगर चोक, भवानीपुर, ६ नम्बर चोक, ज्यामिरे हुँदै पुनः खैरेनी चोकमा पुगेर समापन हुनेछ । र्यालीमा साइकल, मोटरसाइकल तथा स्कुटरमार्फत सहभागी हुन सकिने र सहभागीहरूका लागि टी-सर्ट तथा क्यापको व्यवस्था गरिएको क्लबले जनाएको छ ।
करिब सय जना सहभागी हुने र्याली व्यवस्थापन गर्न १ लाख खर्च अनुमान गरिएको र आर्थिक व्यवस्थापन क्लबको आन्तरिक स्रोतबाट गरिने क्लबका अध्यक्ष नारायण भण्डारीले बताए ।
रोटरी इन्टरनेसनलले सन् १९८५ मा 'पोलियो प्लस' अभियान सुरु गरेको थियो भने सन् १९८८ मा विश्व स्वास्थ्य संगठन, युनिसेफ लगायतका साझेदार संस्थासँग मिलेर ग्लोबल पोलियो इराडिकेसन इनिसिएटिभ स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । नेपालमा सन् २०१० अगस्ट ३० मा अन्तिम पोलियो केस देखिएको थियो भने सन् २०१४ मार्च २७ मा विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रलाई पोलियोमुक्त प्रमाणित गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology