देवदह । देवदहमा देशभक्तिपूर्ण गीत ‘प्यारो देश नेपाल’ सार्वजनिक गरिएको छ । गायक घनश्याम अग्रहरीको शब्द तथा संगीत रहेको गीतमा अग्रहरी र लक्ष्मी अधिकारीको स्वर रहेको छ ।
शनिबार एक कार्यक्रमबीच देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले गीत सार्वजनिक गरिन् । कार्यक्रममा बोल्दै गुरुङले पछिल्लो समय नेपाली कला र संस्कृति हराउँदै गएको अवस्थामा ‘प्यारो देश नेपाल’ जस्ता गीतले कला तथा संस्कृतिको संरक्षणमा सहयोग पुर्याउने बताइन् ।
देवदह कला प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गायक तेजु अर्याल र साहित्यकार दल बहादुर गुरुङले गीतसंगीतले मानिसलाई आफूतर्फ आकर्षित गर्ने बताए । उनीहरूले पछिल्लो समय देशभक्तिपूर्ण गीत सुन्ने प्रचलन घट्दै गएको उल्लेख गर्दै राष्ट्रिय भावना जागृत गराउन यस्ता गीतको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे ।
घनश्याम अग्रहरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अञ्जु श्रेष्ठले स्वागत गरेकी थिइन् भने सञ्चालन यज्ञप्रसाद न्यौपानेले गरेका थिए ।
गायक अग्रहरीको यो दोस्रो गीत हो । यसअघि उनले देवदहको भूगोल र माटोप्रतिको माया समेटिएको गीत सार्वजनिक गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology