काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेको सीपीसीका विदेश विभाग प्रमुख आफ्नो टोलीसहित एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार विहान बालकोट गएका थिए। बालकोटमा झण्डै दुई घण्टा उनीहरुबीच द्विपक्षीय छलफल भएको थियो।
भेटमा लिउले पछिल्लो पटक नेपालमा भइरहेका चीन विरोधी गतिविधिबारे ओलीसँग जिज्ञासा राखेका थिए। दुई नेताको भेटमा दुई कम्युनिस्ट पार्टीको सम्बन्धलाई सुदृढ र बलियो बनाउनेबारेसमेत छलफल भएको थियो।
बैठकपछि एमाले नेता राजन भट्टराईले नेपालले अवलम्बन गर्दै आएको एक चीन नीतिका विषयमा लिउले चासो राखेको बताए।
जवाफमा ओलीले आफूहरु एक चीन नीतिप्रति प्रतिबद्ध रहेको लिउलाई सुनाएका थिए। अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘नेपाली भूमि कुनै पनि मुलुकविरुद्ध प्रयोग हुन दिन्नौं, त्यो हाम्रो प्रतिबद्धता हो।’ ओलीले नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहुने विषयमा लिउलाई आश्वस्त पार्ने प्रयत्न गरेका थिए।
अध्यक्ष ओलीले अहिले नेपालमा भएजस्ता चीनविरोधी गतिविधिहरु आफू प्रधानमन्त्री भएका बेला नभएको भन्दै चिनियाँ प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराएको स्रोतले बताएको छ।
त्यसैगरी आसन्न निर्वाचनमा वाम गठबन्धनको सम्भावनाबारे पनि चिनियाँ प्रतिनिधिमण्डलले चासो राखेको स्रोतको भनाइ छ। सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा पनि चिनियाँ प्रतिनिधिमण्डलले वाम गठबन्धनबारे चर्चा गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology