मलाई राष्ट्रिय जोगी घोषणा गर !
पाइलै पिच्छे भुटिएका छन् रहरहरु
आंख्लै पिच्छे ठुटिएका छन् बिचारहरु
जन्मिदै ५२ हजार ॠणले थिचिएका छन् शहरहरु
सरकार,
मलाई राष्ट्रिय जोगी घोषणा गर !
मिहेनत गरेर ढुंङ्गोलाई मुर्ती बनाएँ
सजिए मन्दिरमा शिर झुकाउने गरायो
दुईछाक भात र ओत लाग्ने छत माग्दैछु। सरकार,
मलाई राष्ट्रिय जोगी घोषणा गर !
झुपडीमा भुटुन छैन,
मन्दिरमा दियो बाल्यौ
पेटको गाँस कटाएर नेताहरु पाल्यौं
जीवन धान्न एकथान अक्सिजन माग्दैछु।
सरकार,
मलाई राष्ट्रिय जोगी घोषणा गर !
सामन्ती झनझन बढेको देख्छु
निमुखा झनझन गलेको देख्छु
पेट पाल्न काम र माम माग्दैछु ।
सरकार,
मलाई राष्ट्रिय जोगी घोषणा गर !
हत्याहिंसा बढेको देख्न सक्दिन
अदालत ढलेको हेर्न सक्दिन
कानुनको एउटा धारामा न्याय माग्दैछु।
सरकार,
मलाई राष्ट्रिय जोगी घोषणा गर !
मलाई राष्ट्रिय जोगी घोषणा गर !!
✍️ रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology