राजेश पराजुली, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकि छन ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसै गरी प्रतिनिधिसभाको मंगलबारको दोस्रो बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गरेका थिए । विधेयकमाथि परेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेटघण्टी बजाई गणपूरक सङ्ख्या गणना गर्न लगाउनु हुँदा गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको थियो ।त्यसअघि मन्त्री कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालकासम्बन्धी प्रावधानका सम्बन्धमा परेको संशोधन प्रस्ताव स्वीकार गरेका थिए ।
सरकारले ‘केही नेपालि ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो । सत्तापक्ष र प्रतिपक्षले नै सो विधेयकका सम्बन्धमा आपत्ति जनाउँदै संशोधन प्रस्ताव पेश गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology