Logo

२०८३, श्रावण ३०गते


images
images

सरकारी जग्गामा बनेको संरचनाबाट दुई दशकदेखि भाडा उठाएर खादैँ 'लायन्स क्लब'

सरकारी जग्गामा बनेको संरचनाबाट दुई दशकदेखि भाडा उठाएर खादैँ 'लायन्स क्लब'

images
  • सरकारी जग्गामा बनेको संरचनाबाट दुई दशकदेखि भाडा उठाएर खादैँ 'लायन्स क्लब'
    images
    images

    राजेश पराजुली, पोखरा । पोखराको एक लायन्स क्लबले सरकारी जग्गामा बनेको संरचनाबाट दुई दशकदेखि भाडा उठाउँदै खादैँ गरेको  पाइएको छ । लायन्स क्लब अफ पोखरा लेकसिटीले पोखरा महानगरले संरक्षण गर्दै आएको  महेन्द्रपुलको जग्गाको भवन र शौचालयबाट पैसा उठाएर दुरुपयोग गरेको भेटिएको हो ।

    images
    images
    images

    क्लबले त्यहाँ रहेका दुई सटर, एक कोठा र दुई वटा ट्वाइलेट समेत भाडामा लगाएर मासिक २७ हजार पाँच सय रुपैयाँ उठाउँदै आएको छ । उक्त भवनमा रहेको फलफूल तथा जुस पसलबाट मासिक १५ हजार, सँगै जोडिएको अर्को सटरबाट मासिक ८ हजार र पछाडिको भागको एक कोठाबाट मासिक १५ सय रुपैयाँ क्लबले संकलन गर्दै आइरहेको छ ।

    images
    images
    images

    क्लबले भवनमा रहेका सार्वजनिक शौचालयबाट समेत रकम उठाएर खाने गरेको पाइएको छ । पछिल्लो समय उक्त भवनमा रहेका दुई शौचालय भाडामा लगाएर मासिक ३ हजार रकम क्लबले लिँदै आएको छ । स्थानीयका अनुसार क्लबले सुरुमा यी शौचालयबाट मासिक ८ हजार रकम उठाउँदै आएको थियो ।

    images
    images
    images

    क्लबले भाडा उठाउँदै आएको जुस पसलकी सञ्चालक सिता नेपालीले आफूले १९ /२० वर्षदेखि उक्त सटरको भाडा लायन्स क्लब अफ पोखरा लेकसिटीलाई बुझाउँदै आएको बताउँछिन् । ’मैले ५ वर्ष अघिसम्म रसिद नै लिएर क्लबलाई पैसा बुझाउँदै आएकी थिएँ’, नेपालीले रसिद देखाउँदै भनिन, ’त्यसपछिका वर्षमा रसिद दिन नमानेपछि क्लबका प्रतिनिधिलाई डायरीमा हस्ताक्षर गराएर पैसा बुझाउँदै आएकी छु ।’ उनले कोरोनाको समयसहित गरेर आफ्नो पसल बन्द रहेको ११ महिनाको भाडा समेत क्लबलाई बुझाएको बताईन् ।

    नेपालीले हाल क्लबका पूर्व अध्यक्ष देवीप्रसाद गुरुङलाई मासिक १५ हजार रकम र बिजुली पानीको छुट्टै ३५ सय रुपैयाँ बुझाउँदै आएको बताईन् । झन्डै दुई दशकदेखि व्यवसाय गर्दै आएकी उनलाई न आफूले तिरेको पैसा कहाँ जान्छ भन्ने थाहा भयो, न त पसल महानगरमा दर्ता गर्नुपर्छ, बहाल लगायतका कर बुझाउनुपर्छ भन्ने थाहा भयो । उनले पसल चलाएर गुजारा मात्र चलाईनन, यहाँको कमाइले आफ्ना दुई छोरालाई विदेश पढ्न पठाउन समेत सक्षम भईन् ।

    सोही पसलको छेवैमा रहेको जितु रोल सेन्टरका सञ्चालक प्रदीप उपाध्यायले समेत आफूले भाडा बापतको एक महिनाको ८ हजार रकम लायन्स क्लबका देवीप्रसाद गुरुङलाई बुझाएको बताए । उनले कोरोनापछि उक्त पसल छाडेका थिए । त्यसअघि उक्त सटरमा मासु र किराना पसल रहँदै आएको थियो । उक्त पसलले समेत त्यसरी नै भाडा बुझाएको थियो । यसैगरी भवनको आडमा रहेको एक गोदाम कोठाको मासिक १५ सय रकम क्लबले उठाउँदै आएको छ ।

    सार्वजनिक शौचालयबाट पनि पैसा असुल्छ क्लब

    ‘वी सर्भ’ अर्थात् ‘हामी सेवा गर्छौ’ भन्न मूल मन्त्र बोकेको क्लबले सार्वजनिक शौचालयबाट समेत दलाली गरेर पैसा उठाउँदै आएको छ । महानगरबाट सार्वजनिक शौचालय सञ्चालन गर्ने भनेर जग्गा हात पारेको क्लबले त्यही सार्वजनिक शौचालयमा बिचौलिया बनेर २ दशकदेखि पैसा उठाउँदै आएको हो । यस शौचालयको रकम समेत क्लबका पूर्व अध्यक्ष देवीप्रसाद गुरुङले नै उठाउँदै आएका छन् ।

    सुरुवाती क्रममा महिनाको ८ हजार लिने गरेर शौचालय भाडामा लगाएको क्लबले पछिल्लो समय ४ हजार हुँदै ३ हजार रुपैंया उठाउने गरेको छ । क्लबले त्यहाँ रहेका दुई शौचालयको जिम्मा केही समय गोपाल परियारलाई ८ हजार लिने गरी दिएको थियो । पछिल्लो १० वर्षदेखि उक्त शौचालय हरिपला नेपालीले सञ्चालन गर्दै आएका छन् ।

    नेपालीले सुरुका वर्षमा ८ हजार बुझाउने गरेको र त्यसपछि केही समय मासिक ४ हजार बुझाएको र कोरोनापछिको समयमा भने ३ हजार बुझाउँदै आएको बताए । दैनिक औषतमा ५ सय आम्दानी हुने उनको भनाइ छ । ‘मैले अहिले दिनको ५ सय रुपैंया हाराहारीमा संकलन गर्छु । यही पैसाबाट शौचालय सफा गर्नको लागि हर्पिक, फिनेल, ब्रुस, कुचो, बाल्टी किन्दै आएकी छु ।’ हरिपलाले भनिन्- ‘क्लबका मान्छे देवीलाई महिनाको ३ हजार बुझाउँछु । शौचालयमा लाग्ने सबै खर्च मैले नै व्यहोर्ने हो ।’

    सार्वजनिक जग्गा उपयोगका लागि महानगरसँग जग्गा लिएर भवन बनाएको क्लबका पूर्व अध्यक्ष एवं तत्कालीन भवन निर्माण समितिका सदस्य भीम थापा स्विकार गर्छन् । उनले सार्वजनिक शौचालय सञ्चालन गर्नका लागि नै महानगरको जग्गा क्लबले लिएको बताए । ‘हामीले महानगरपालिकासँग सम्झौता नै गरेर जग्गा प्राप्त गरेका हौँ । सम्झौतामा उक्त जग्गामा क्लबले सार्वजनिक शौचालय सञ्चालन गर्ने उल्लेख रहेको छ ।’ थापाले भने । 

    क्लबले उक्त स्थानमा भवन निर्माण गरेर सञ्चालनमा ल्याएपनि बेलाबखतका विभिन्न विवादका कारण सोचेअनुसार काम गर्न नसकेको उनको स्वीकारोक्ति छ ।
    क्लबका तत्कालीन बोर्ड सदस्य नारायण शर्माले वडा नं. ९ अध्यक्ष विष्णु बास्तोलासँग समन्वय गरेर क्लबले सार्वजनिक जग्गा प्राप्त गरेको बताए । उक्त जग्गामा भवन निर्माण गर्ने क्रममा क्लबले नै आर्थिक जोहो गरेको शर्माले दाबी गरे । तर, महानगरकै एक कर्मचारीका अनुसार क्लबले उक्त भवन निर्माण गर्दा समेत महानगर र वडा लगायतका स्थानबाट आर्थिक सहयोग लिएको थियो । त्यतिबेला महानगरको मेयर कृष्ण थापा थिए ।


    क्लबबाट पैसा असुलउपर गराउनुपर्छ : नागरिक समाजका अगुवा पौडेल 

    समाजसेवा गर्ने उद्देश्य भन्दै सञ्चालन हुने क्लबले सार्वजनिक जग्गाको दुरुपयोग गर्दै सटर र सार्वजनिक शौचालयबाट समेत रकम उठाएर खानु लाजमर्दो कार्य भएको नागरिक समाजका अगुवा रामबहादुर पौडेल बताउँछन । ‘महानगरले संरक्षण गरेको जग्गाबाट पैसा उठाएर खानु त गैह्र कानुनी कार्य हुँदै हो । त्यसमाथि २० वर्षसम्म त्यसको हिसाबकिताब र लेखाजोखा नगरिनु अर्को ठूलो लापरबाही हो । यसमा सम्बन्धित निकायले चासो देखाउँदै क्लबले हालसम्म उठाएको रकम पूर्ण रूपमा फिर्ता लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन जोडदार माग गर्दछु’, पौडेलले भने ।

    महानगरले उक्त जग्गामा डोजर चलाउने भनेर सुनिएको बताउँदै उक्त जग्गामा डोजर चलाइए पनि जस जसले त्यहाँबाट पैसा उठाएका छन् र जस जसले तिरेका छैनन्, तिनीहरू सबैको नेपाली कागजमा मुचुल्का उठाएर रेकर्ड राखी महानगरले पैसा उठाउनै पर्नेमा पौडेलको जोड छ ।सार्वजनिक शौचालय सञ्चालन गरेर सेवा गर्ने नाममा क्लबले धन्दा गरेको र सार्वजनिक शौचालयबाट समेत सिधै पैसा उठाएर खाने कार्य दण्डनीय रहेको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।