राजेश पराजुली, पोखरा । पोखराका मुख्य बजार क्षेत्रमा रहेका अव्यवस्थित कवाडी सङ्कलन केन्द्रहरुबाट डेङ्गु फैलन मुख्य भूमिका खेलेकाले यसलाई अन्यत्र सार्न लागिएको हो ।
पछिल्लो केहीदिनयता समुदायस्तरसम्म डेङ्गु फैलन थालेको र महामारीको रुपमा देखापर्ने सम्भावनालाई न्यूनीकरण गर्न महानगरले मुख्य बजार क्षेत्रमा रहेका कवाडी सङ्कलन केन्द्रहरुलाई ३५ दिनभित्रमा अन्यत्र सार्ने भएको हो ।
महानगरले आज एक सूचना जारी मुख्य आवास क्षेत्रमा रहेका अव्यवस्थित कवाडी सङ्कलन केन्द्रहरू डेङ्गु लगायतका महामारी जन्य रोग फैलने कारक बनेकोले अनिवार्य रूपमा हटाउन आग्रह गरेको हो ।
डेङ्गुको रोकथाम तथा नियन्त्रणको लागि महानगरपालिकाले विभिन्न प्रयासहरू गर्दै आइरहेको र कवाडी सङ्कलन केन्द्रहरूलाई आवास क्षेत्रको कम्तीमा ५०० मिटर दुरीभन्दा बाहिर स्थापना गर्न आग्रह गरिएको महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत जीतेन्द्रजङ्ग केसीले बताए ।
उनका अनुसार कवाडी व्यवसायीहरूलाई आवास क्षेत्रबाट अन्यत्र स्थानान्तरण गर्ने कार्यमा सघाउन घर÷जग्गा धनीलाई समेत आग्रह गरिएको छ । महानगरले तोकिएको समय सीमाभित्र स्थानान्तरण नभए कानुन अनुसार कारवाही हुने जनाएको छ ।
महानगरले कवाडी सङ्कलन केन्द्र, गोदामहरू तथा आफ्नो घर व्यवसाय क्षेत्रका पानी जम्ने खाल्डाखुल्डी, पानीका ड्रम तथा टिनका भाँडा, टायर, गमला लगायतका पानी जम्ने स्थानहरूलाई नष्ट गर्ने गराउने कार्यमा सक्रियतापूर्वक लाग्न वडा कार्यालय, नागरिक समाज, सरोकारवाला एवं नगरवासीहरूलाई अनुरोध समेत गरेको छ ।
गण्डकी प्रदेशको स्थास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कास्कीमा सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् ।
कास्कीमा हालसम्म ३२ जनामा डेङ्गु पुष्टि भएको बताइन्छ । गण्डकीका मनाङ र मुस्ताङ बाहेकका अन्य जिल्लामा डेङ्गुको सङ्क्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology