सुमन महतारा, गुल्मी । गुल्मीकाे इस्मा गाउँपालिकाले प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई २५ हजार छात्रवृत्ति दिने भएको छ । पालिकाले उपाध्यक्ष छात्रवृत्ति वितरण सम्बन्धि कार्यविधि बनाएर विभिन्न १० वटा विधामा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हाे ।
एसइइ पास गरेर मान्यता प्राप्त शिक्षण संस्थाबाट प्राविधि क्षेत्र कृषि प्राविधिक, पशु प्राविधिक, उद्यम विकास सहजकर्ता, ल्याव असिस्टेन्ट, सब-ईन्जिनियर, नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी र जियाेम्याकिक्स ईन्जिनियरीङ्ग अध्ययन गरिरहेका विद्यार्थीले उपाध्यक्ष छात्रवृत्ति काेषबाट वार्षिक २५ हजारका दरले छात्रवृत्ति पाउँने ईस्मा गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अधिवक्ता पार्बती कुवँरले जानकारी दिईन् ।
गाउँपालिका भित्रका विद्यार्थीहरु प्राविधिक विषय पढ्ने कम मात्रामा भएकाे, पालिकामा प्राविधिक कर्मचारी राख्नुपर्दा पनि बाहिर जिल्लाबाट खाेज्नुपर्ने समस्या भएकाले 'इस्माकै नागरिक इस्मामै सेवा' लागि छात्रवृत्ति दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले बताएका छन् ।
त्यस्तै गाउँपालिकाले तत्काल ईस्मा ४ दोहोलिमा पाँच शैयाकाे अस्पताल सञ्चालन हुँदै गरेको र त्यहाँ पनि इस्माकै जनशक्ति राख्ने लक्ष्यका साथ छात्रवृत्ति नै दिएर भएपनि प्राविधिक क्षेत्रकाे आक्रषण बढाउन लागिएको अध्यक्ष खड्काले बताए ।
गाउँपालिकामा प्राविधिक विषय पढाइ हुने २ वटा विद्यालय रहेको तर प्राविधिक पढ्ने विद्यार्थी सङ्ख्या भने एकदमै न्यून रहेकाेले प्राविधि क्षेत्रकाे आकर्षण बढाउने उद्देश्यले पालिकाले उक्त कार्यक्रम अगाडि सारेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख लालबहादुर कुँवरको भनाइ छ ।
छात्रवृत्तिका लागि ३० दिन भित्र आवेदन दिनुपर्ने र पूर्व परिक्षाका आधारमा प्रत्येक बिधामा उत्कृष्ट अङ्क प्राप्त गर्ने एक / एक जनालाई छात्रवृत्ति दिईने प्रमुख प्रशासकीय अधिकृत धनिस्वर पाैड्यालले बताएका छन् ।
गाउँपालिकाले प्रविधिक क्षेत्रमा धेरै करारमा कर्मचारी राखेकाे छ तर स्थानीय नभेटिने समस्या भएकाले उपाध्यक्ष काेष कार्यविधि नै बनाएर छात्रवृत्ति दिन थालिएकाे गाउँपालिकाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology