कृष्ण अन्जान, गुल्मी । जुम्ला सिँजाका कृष्ण बहादुर हमाल हिउँद लागेपछि गुल्मी जिल्लाको रिडीबजार तिर सुईटर बुन्दै गरेको भेटिन्छन । हिँउद लागेपछि रिडीबजारतिर आउन थालेको २३ वर्ष पूरा भएको छ हमालको । कार्तिक लागेपछि जुम्लातिर बेस्सरी हिउँ पर्छ, सँगै खेतिपातिको काम पनि सकिएपछि जुम्लीहरु जाडो छल्न र विभिन्न व्यापार गर्न तराई तिर झर्छन ।
जुम्लाको सिँजा गाउँपालिका घर भएका हमालको गाउँ छाड्ने श्रृङ्खलाले २३ बसन्त पूरा गरेको छ र उनको रोजाईमा रिडीबजार परेको छ ।
उनको गाउँ जुम्लाको सिँजा उपत्यकामा फागुनबाट खेतिपातिको सिजन शुरु हुन्छ। कार्तिकसम्म यहाँका वासिन्दा खेतिपातिमा व्यस्त रहन्छन। यो अवधिमा मकै, धान, जौ, गहुँ लागाएतका अन्न उत्पादन हुन्छ र अन्न स्याहारीसकेपछि जुम्लीहरु तराईतिर झर्छन ।
जु्म्लीहरुले पुर्खौँ देखि यसरी नै हिउँदमा जाडो छल्दै तराई र मध्य पहाडका विभिन्न शहरहरुमा व्यापार गर्छन । मुख्यतया गलैँचा, कार्पेट, सुईटर, बल्याङकेट, सुईटर, टोपि, मोजाका साथै जरिबुटिहरुमा सिलाजित, हिँग, बिरेनुन, जिम्मु, निरमसी, सतुवा बोझो जुम्लीले गर्ने व्यापारका सामानहरु भएको कृष्ण बहादुर हमालले बताए ।
तर कृष्ण बहादुर हमालसँग भने सुईटर, टोपि, मोजा बुन्ने फरक सीप छ र उनको हात कतिबेलै खालि छैन । बिहान उठ्ने बित्तिकै र राति एघार बाह्र बजेसम्मपनि बुनिरहन्छु सुईटर बुन्दै गरेका हमालले आफ्नो दैनिकी सुनाए ।
उनले बुन्ने सुईटर, टोपिको मूल्य अलि महँगो छ तर गुणस्तरीय छ । जुम्लातिरै उत्पादन भएको ऊनबाट उनले बुन्ने काम गर्छन । पहिला पहिला डोल्पा, जुम्ला तिरका घरमै बुनेका राडि-पाखि, कम्मल रिडीको मेलामा आउँथे तर आजभोलि चाईनिज सामानको माग बढेसँगै त्यताका सामानको प्रयोग घटेको मात्र होईन देख्नै छाडिएको हमालको भनाई छ ।
त्यसो त रिडी उनको साँझ विहानको वास हो । उनी दिनभरि सामान बोकेर थोर्गा, ग्वादी, स्याङ्जाको कालिपार, पाल्पाको कुसेनी, अर्गली, अस्लेवातिर डुल्छन र साँझ बस्न रिडी फर्किन्छन ।
'खै किन हो किन रिडीबजार आफ्नै गाउँझै लाग्छ। यहाँका दाजुभाइ दिदीबहिनीहरु आफ्नै जस्तो लाग्छ' उनी भन्छन ।
२३ वर्ष रिडीलाई केन्द्रबनाएर गरेको उनको व्यापार चलिरहँदा गाउँघरमा पाँचलाख उधारो रहेको उनको भनाई छ । 'गाउँघरमा उधारो सामान दिईयो चार पाँचलाख उधारो उठेको छैन दिन्न त कसैले भन्दैन खै कहिले उठ्ने हो' उनी दुखेसो पोख्छन । हुनत जुम्ला सिँजामा उनको पचास रोपनि जग्गा छ तर जीवन जिउने माध्यम भनेको यहि व्यापार हो ।
जीवनमा सुखदुखका पाटा सबैका हुन्छन, उनका पनि जीवनका अँध्यारा पाटाहरु छन । कृष्ण बहादुर हमालकि जीवन सँगिनि जारमा हमाल मुटुको रोगि हुन । जुम्लामा चिसोमा बस्दा रोगले झनै चाँप्ने र उपचार पनि गतिलो नहुने भएपछि उनी पच्चीस वर्षदेखि काठमाडौंमा डेरा लिएर बस्छिन । एक छोरा र छोरीले काठमाडौंमै पढ्छन । जीवन सँगिनि जारमाको उपचार, छोरा-छोरीको पढाइ लेखाइ सबै हमालको काँधमा छ । जुम्लामा खेतीपाति, जीवन सँगिनिको रेखदेख, छोराछोरीको पढाइ लेखाइ सबैको जिम्मेवारीसँगै सबै खर्चको जोहो कृष्ण बहादुर हमालले रिडीमा बसेर गर्ने उनको यहि व्यापार हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology