ढल्दैछन स्वाभिमानका शिरहरु
कोरोनाको बिपत्तिमा आत्तिदै थिए जनताहरु
राजनीतिको खिचातानीमा मात्तिदै थिए नेताहरु
हिजो मात्रैको कुरो हो महोदय
दलालहरु मन्त्रालयमा जश्न मनाईरहदा
अबेर रातसम्म आर्यघाटमा जल्दै थिए लाशहरु।
भागबन्डामा किनबेच भएका छन् रास्ट्रीयता
डलरमा साटिका छन स्वाभिमान
गुट र उपगुटमा बिभक्त भएका छन् दर्शन
चाकडी र चाप्लुसिवादसंग लिलाम भएका छन् सिद्धान्तहरु
पार्टी कार्यालयमा एकले अर्कोलाई फकाईरहदा
बिदेशमा सुक्दै थिए नेपालीका रगतहरु।
कस्ले जित्यो कस्ले हार्यो ?
थाहा छैन हामीलाई
मैले के पाए तपाईले के पायो ?
त्यो पनि थाहा छैन हामीलाई
खोप नपाएका जनता
अक्सिजन नपाएका बिरामीहरु छटपटाईरहदा
झण्डा हल्लाउँदै एमबिसीमा बिक्दै थिए नेताहरु ।
रित्तिका छन् अनुशासनका शब्दहरु
सकिएका छन् कानुनका दफाहरु
मेटिएका छन् कोरिएका सिमारेखाहरु
महोदय
भिख मागेर नेता पोस्दैछौं
सकिनसकी रास्ट्रीय ॠण बोक्दैछौं
टाईसुट लाएर नेताहरु संसदमा बिकिरहदा
ढल्दैछन स्वाभिमानका शिरहरु मर्दैछन जनताहरु ।
मर्दैछन जनताहरु ।
- रामचन्द्र तिम्सिना(आवाज)
म्यागङ ५ सामरी नुवाकोट
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology