कविता : देखेको परिवर्तन
ज्ञान बाड्ने ज्ञानीहरु पाइलापाइलामा छन्
धन बाढ्ने धनीहरु पनि टोलटोलमा छन्
देखेकै हो
जिउँदालाई लात हानेर मुर्ती पुज्नेहरु
बुद्ध बन्न जंगल पस्दा कसाई बनेर फर्किनेहरु ।
बिकाउ संसारमा बिक्छन हरेक सम्बन्धहरु
त्यसैले त हिजोआज
हड्डी र छाला बिचको नाता तोडिएको छ
देखेकै हो
छेपारे रंग र प्रवृत्तिहरु
रास्ट्रवादी बन्न सिंहदरबार पस्दा दलाल बनेर निस्किनेहरु ।
न्याय कै गला थिच्ने न्यायाधीश छन्
बर्दी मै गुण्डागर्दी गर्ने प्रहरी छन
देखेकै हो
कानुनको आँखामा पट्टि बांधेर अपराधी उम्काउनेहरु
पारदर्शिता बन्न खोज्दा सुन पित्तल बनाउनेहरु ।
शिवलिङ्ग ढोग्छन शाालिग्राम पुज्छन
मन्दिर मुर्ती छानिछानी घुम्छन
देखेकै हो
मानवता गुमाएका धर्मावलम्बीहरु
पुजारी बन्न मन्दिर पस्दा सुपारी लिएर फर्किनेहरु ।
कान पाक्नेगरी सुनिन्छ देश बनाउने नाराहरु
संसार बदल्ने अठोटहरु
देखेकै हो
बालुवाटारमा बियर पार्टि आर्यघाटमा लाशको ताती
सिमा खोज्न एम्बेसी पस्दा देश बेचेर फर्किनेहरु ।
कृषि क्रान्ती यहीँ हुन्छ
उद्योग क्रान्ति पनि यहीँ हुन्छ
देखेकै हो
टोकरीमा नागरिकता बेच्नेहरु
आत्मनिर्भर बन्न कुर्सी खोज्दा गुलामी स्विकारेर फर्किनेहरु ।
गुलामी स्विकारेर फर्किनेहरु।
✍️ रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology