काठमाडौं । सम्भावित ‘क्रस भोटिङ’लाई मध्यनजर गर्दै राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय गठबन्धनले प्रदेशदेखि संघीय सांसदसम्म निगरानी बढाएको छ । आर्थिक वा अन्य प्रलोभनमा एमालेले ‘क्रस भोटिङ’ गराउन सक्ने जोखिम देखिएको भन्दै आठ दलका शीर्ष नेताले राष्ट्रपति निर्वाचनमा मतदाता रहेका दुवै तहका सांसदमाथि पार्टी संयन्त्रबाटै निगरानी थालेका हुन् ।
गठबन्धनले एमाले उम्मेदवारका पक्षमा मत जान नदिन प्रदेशदेखि केन्द्रसम्मका सांसदलाई अभिमुखीकरण कार्यक्रमसँगै निगरानी बढाएको हो । गठबन्धनले संघीय सांसदलाई राजधानीमा केन्द्रित गराएको छ । त्यस्तै, प्रदेश सांसदहरूलाई प्रदेश मुकाममा केन्द्रित गरेको छ ।
बिहीबार गठबन्धनका शीर्ष नेताले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदलाई तीन घन्टा प्रशिक्षण दिएका छन् । शुक्रबार सातै प्रदेश मुकाममा सांसदलाई अभिमुखीकरण गरिँदै छ । २४ फागुनमा संयुक्त रूपमा केन्द्रमा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।
बिहीबारको अभिमुखीकरणमा सम्बोधन गरेका शीर्ष नेताले गठबन्धनका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आवश्यक रहेको बताए । राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने भएकाले आफ्नो भोट एमालेले प्रभावित बनाउन सक्ने गठबन्धनलाई डर छ ।
‘एक भोट पनि तलमाथि नहोस् भन्नेमा हामी सचेत छौँ । यसका लागि आ–आफ्नो पार्टी संयन्त्रले संघीय र प्रदेश सांंसदका गतिविधिमाथि नजर राखेका छौँ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘हामी भोट बढाउन खोजेका छौँ । त्यहीअनुसार निर्णय नलिएका पार्टीसँग पनि संवाद बढाएका छौँ ।’
अभिमुखीकरणमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन ब्युँताएसँगै मुलुक ‘सही ट्र्याक’मा आएको दाबी गरे । संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन ब्युँताइएकाले यसलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए । प्रचण्डले विश्वासको मत लिने दिन एमाले अध्यक्ष ओलीले संसद् विघटन सही भएको बताएकाले नयाँ गठबन्धनबारे सोच्न बाध्य भएको बताए ।
‘संविधानविपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ । संसद् पुनस्र्थापना गर्न सडकसम्म गयौँ । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ,’ प्रचण्डले भने, ‘रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ । गठबन्धनमा रहेका दलका साथै आम आदमी र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ । स्वतन्त्र सांसदहरूको पनि समर्थन छ । उहाँले निर्वाचन जितिसक्नुभएको छ । यो लोकतन्त्र र संविधानको हितमा छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान राष्ट्रपतिबाट कानुनको पालना नहुँदा वितृष्णाको अवस्था रहेको बताए । संविधान रक्षा गर्न र प्रजातन्त्रको सवालमा पौडेल राष्ट्रपतिको उपयुक्त उम्मेदवार रहेको जिकिर गरेका थिए । ‘रामचन्द्रजीको प्रजातन्त्र प्राप्तिका लागि ठूलो योगदान छ, यसका लागि धेरै दुःख गर्नुभएको छ । अहिलेको राष्ट्रपतिबाट कानुनको पालना नहुँदा वितृष्णाको अवस्था छ । रामचन्द्रजीले संविधान रक्षा गर्न र प्रजातन्त्रको सवालमा राष्ट्रपतिको पदको गरिमा कायम हुने गरी काम गर्नुहुनेछ भन्ने विश्वास छ,’ देउवाले भने, ‘निर्वाचनका क्रममा प्रचण्डजीले उहाँलाई प्रधानमन्त्री बनाउँछु भन्नुभएको थियो । त्योभन्दा माथिल्लो पदमा नै उहाँले ल्याउनुभएको छ । माधवजी पनि यसमा सहमत हुनुभयो, अरू दल पनि जोडिनुभएको छ ।’
एकीकृत समावादीका अध्यक्ष माधव नेपालले राष्ट्रका सामु अनेकन चुनौती रहेकाले संविधानको रक्षालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने बताए । ‘राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीबारे प्रस्टताको आवश्यकता छ । राष्ट्रिय हितको प्रवर्द्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, राष्ट्रिय हितको प्रवर्द्धनलाई केन्द्रबिन्दुमा राख्नुपर्छ,’ उनले भने, ‘म आफैँ उहाँको प्रस्तावक भएकाले उहाँको विजयको शुभकामना दिन चाहन्छु । अहिलेसम्म प्राप्त अनुभवलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्नेमा विश्वास छ ।’
शीर्ष नेताको भनाइमा सहमति जनाउँदै अन्य पाँच दलका नेताले सम्बोधन गरेका थिए । कार्यक्रममा महन्थ ठाकुर, अशोककुमार राई र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका नेता बेदुराम भुसाल, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, जनमत पार्टीका नेता अब्दुल खानलगायत सहभागी थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology