इलाम । इलाममा ‘फर्स्ट फ्लस’ अर्थात् चियाको पहिलो टिपाइ सुरु भएको छ। पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वका साथ लिने गर्छन्। वर्षभर उत्पादन हुने चियामध्येको सबैभन्दा गुणस्तरीय र राम्रो मूल्यमा बिक्री हुने पहिलो चरणको हरियो पत्तीको मूल्य पनि राम्रै हुने गरेको छ।
चिया टिपाइ सुरु भएसँगै सूर्योदय नगरपालिकास्थित सुन्दरपानीको गोर्खा टी स्टेटले किसानबाट लिने हरियो पत्तीको मूल्य नै निर्धारण गरेको छ । पूर्ण रूपमा अर्गानिक तयारी चिया उत्पादन र तेस्रो मुलुक निकासी गर्ने गोर्खा टी स्टेटले आगामी दुई वर्ष तीन समूहमा चियाको मूल्य निर्धारण गरेको जनाएको छ ।
गोर्खाले ‘ए ग्रेड’मा दुई पात एक सुइरो ८० प्रतिशतभन्दा माथि भएको हरियो चियालाई प्रतिकिलो ९७ रुपियाँ ५० पैसा किसानलाई दिने भएको छ । यस्तै ‘बी ग्रेड’मा ८० प्रतिशतभन्दा कम सुइरो भएको चियालाई प्रतिकिलो ६५ रुपियाँ ५० पैसाका दरले किसानलाई उपलब्ध गराउने भएको छ । ‘सी गे्र’ अर्थात् बी ग्रेडभन्दा कमसल चियालाई ३८ रुपियाँ ५० पैसा प्रतिकिलोका दरले किसानलाई दिने गोर्खाले जनाएको छ ।
गोर्खाले गत वर्ष किसानलाई हरियो चियाको मूल्य प्रतिकिलो ८७ रुपियाँ ५० पैसाका दरले दिएको थियो । गोर्खा टीले आफूलाई चिया बिक्री गर्ने किसान र सहकारीहरूलाई प्रतिकिलो पाँच रुपियाँ चिया सङ्कलनका लागि दिनेगरेको छ । यस्तै उद्योगमै चिया पु-याउने किसान र सहकारीलाई प्रतिकिलो थप पाँच रुपियाँ दिने गरेको गोर्खा टी स्टेललाई चिया बिक्री गर्दै आएको कोल्बुङस्थित इको चिया सहकारी संस्थाका व्यवस्थापक गणेश अर्यालले बताए ।
गोर्खा टी स्टेटले निकासी गर्ने जर्मनस्थित खरिदकर्ताले ‘मार्केट बोनस’का रूपमा कम्तीमा प्रतिकिलो तीन रुपियाँका दरले सोझै किसानको बैङ्क खातामा पठाउने तयारी गरेको उनले जानकारी दिए । इको चिया सहकारीले पनि यस वर्ष दुई सय किलो फस्ट फ्ल्स चिया बिक्री गरिसकेको जनाइएको छ । हालसालै मात्र चीनमा ‘गोल्ड मेडल’ पाउन सफल तीनजुरे सहकारी संस्थाले पनि यस वर्षका लागि किसानलाई हरियो पत्तीको प्रतिकिलो एक सय १५ रुपियाँका दरले मूल्य दिनेभएको छ ।
तीनजुरेले गत वर्षकै मूल्य कायम गरेको तीनजुरे चिया उद्योगका चिया प्राविधिक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । दुई पात एक सुइरो मात्रै चिया लिने यस उद्योगले चैतको १५ गतेदेखि मात्रै चिया प्रशोधनको तयारी हुने उहाँले बताए । तीनजुरेमा गत वर्ष ११ हजार किलो तयारी चिया उत्पादन भएको थियो ।
गोरखापत्र अनलाइनका अनुसार यस वर्ष हिउँदे वर्षा नहुँदा त्यसको असर चियालाई परेको छ । मौसम सुक्खा भएको र पहाडी क्षेत्रमा सिँचाइको वैकल्पिक व्यवस्था नहुँदा त्यसको असर चिया किसानलाई परेको जरवीरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले बताए।
“जिल्लाभर नै चिया टिपाइ सुरु हुन अझै केही समय लाग्छ,” उनले भने– ‘यस वर्ष समयमा पानी नपर्दा चिया किसानले निकै घाटा बेहोर्नुपर्ने अवस्था छ ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology